काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्ने
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्ने भएको छ । बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा निषेधाज्ञा हट्ने भएको हो ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
यससँगै बैठकले काठमाडौं उपत्यका प्रवेशमा कडाइ गर्ने, उपत्यकामा सवारीसाधन सञ्चालनमा जोर–बिजोर लागु गर्ने निर्णय गरेको छ ।
यसैगरी पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको हो।
यसअघि उपत्यकाका जनप्रतिनिधिले समेत नाकामा कडाइ गरेर उपत्यकामा स्थिति सहज बनाउन सुझाव दिएका थिए। व्यवसायीहरुले खुल्ला गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।
उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ । गत भदौ ३ गते देखि उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै निषेधाज्ञा जारी रहेको छ ।










