भेलमा खसेका चालक परिवारलाई ८ लाख

जन्तीबस दुर्घटनाका मृतकको परिवारलाई जनही ५ लाख
हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार १४:५७
;

मकवानपुर । भक्तपुर नगरपालिका वडा नम्बर–१, चुनदेवीको भेलमा गत २०७६ साल जेष्ठ २८ गते ज्यान गुमाएका ट्रक चालकका परिवारलाई नारायणी संघ हेटौंडाले बीमा वापतको रकम हस्तान्तरण गरेको छ । हेटौंडा स्थित संघको कार्यालयमा हेटौंडा–९ का ट्रक चालक नरबहादुर राउतकी श्रीमती रत्नकुमारी राउतलाई सवारी दुर्घटना वापतको रु. ५ लाख र यातायात मजदुर बीमा वापतको रु. ३ लाख गरी ८ लाख रुपैया बराबरको चेक संघका अध्यक्ष हिरालाल श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

सल्लाघारीबाट सूर्यविनायक तर्फ मालबाहक ट्रक लिएर आउने क्रममा सो स्थानको सडकमा जम्मा भएको पानीका कारण सडकको चौडाई राम्रोसँग नदेखेपछि ट्रक रोकी चालक राउत बाहिर निस्कने क्रममा कल्भर्टको भेलमा परेर उनी वेपत्ता भएका थिए । भेलले बगाएर बेपत्ता भएका ना. ६ ख १६१६ नम्बरको ट्रक चालक बर्ष ५७ का नरबहादुर राउतको शब भोलिपल्ट ललितपुर, बागमती गाउँपालिका वडा नम्बर–१, घुसेलस्थित बागमती खोला किनारमा फेला परेको थियो ।

नारायणी संघ हेटौंडाले हालसम्म संघमा आवद्ध भई दुर्घटनामा परी ज्यान गुमाएका १२ जना सवारी चालकहरुलाई दुर्घटना वापतको रकम हस्तान्तरण गरिसकेको संघका महासचिव सरोजकुमार खनालले जानकारी दिएका छन् ।

महासचिव खनालका अनुसार गत फागुन २१ गते मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२, शिखरकटेरीमा विवाहको जन्ती लिएर आएको ना. ३ ख ३५५६ नम्बरको बस दुर्घटनामा ज्यान गुमाएका ४ जनालाई पनि जनही ५ लाखका दरले क्षतिपूर्ति रकम प्रदान गरेको छ ।

सो जन्ती बस दुर्घटनामा घाईते भएकाहरुको उपचारमा १८ लाख रकम खर्च भएको संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*