कोरोना फैलिरहदा प्रदेश २ का मन्त्री भीडभाड गरी जन्मदिनमा रमाए
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्राणको नेपाल सरकारले भीडभाड नगरी सामाजिक दुरी कायम गर्न, मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न र साबुन पानीले हात धोइरहन सबैमा आग्रह गरिरहेको छ ।
नेपालका विभिन्न स्थानमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । समुदायस्तरमा नै कोरोना संक्रमण देखिन थालेपछि देशका विभिन्न स्थानमा सरकारले भीडभाड गर्न प्रतिबन्ध लगाएको छ ।
यस्तै समयमा प्रदेश २ का एक मन्त्रीले सरकारकै नियम मिचेर भीडभाड हुने कार्यक्रम नै आयोजना गरेका छन् ।
भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले कोरोनाको प्रवाह नगरी जन्मदिनमा भीडभाड गरी रमाइलो गरेका छन् । पछिल्लो समय प्रदेश २ का विभिन्न स्थानमा समुदायस्तरमा नै कोरोना फैलिरहदा उनले जन्मदिन मनाएपछि सामाजिक सञ्जालमा यसको आलोचना पनि गरिएको छ ।
उनले भदौ २५ गते बिहीवार जनकपुरबाट बारा पुगेर मानिसहरुको भेला गरेरै केक काटेका छन् । जन्मदिनमा सामाजिक दुरी त परै जाओस् मास्क पनि लगाएको देखिदैन ।
संक्रामक रोग ऐन २०२० मा लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना हुने व्यस्था पनि छ ।










