टिचिङ अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा काठमाडौंका तीन जना र सिन्धुपाल्चोकका एक जना पुरुष रहेका छन् ।
मृत्यु हुने संक्रमितहरूमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष रहेका छन् ।
अस्पतालका कोभिड टिम सदस्य डा. सविन थपलियाका अनुसार काठमाडौंका ५९ वर्षीय पुरुष गत भदौ १९ गते अस्पताल भर्ना भएका थिए । काठमाडौंकै अर्का ६४ वर्षीय पुरुषको भने आइतबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको भने शनिबार राति साढे १२ बजे मृत्यु भएको डा.थपलियाले जनाए । उनमा कोभिड निमोनियाको समस्या रहेको थपलियाले बताए ।
मृतक चार जनाकै अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।