सिन्धुपाल्चोक पहिरोः ११ जनाको शव फेला, २० अझै बेपत्ता


सिन्धुपाल्चोक । अविरल वर्षाका कारण बाह्रबीसे नगरपालिका–७ मा दुइ वटा बस्तीमा खसेको पहिरोमा परि बेपत्ता भएका मध्ये ११ जनाको शव फेला परेको छ भने अझै २० जना बेपत्ता रहेका छन् ।
शनिबार राति खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका ७ घर पुरिएका छन् । जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा मृत्यु हुनेहरुमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, ८ वर्षीय सन्देश विक र नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल विक रहेका छन् ।
त्यसैगरी मृतकमा नेवार टोल र नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र ५ वर्षीया सरसस्वती विक रहेका छन् ।
पहिरोमा बेपत्ता २० जनाको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको जनाइएको छ ।