चीनले भारतीय प्रधानमन्त्रीसहित १० हजारको जासुसी गराएको आरोप
काठमाडौं । भारतीय राष्ट्रपति, प्रधानमन्त्री सहित १० हजारको चीनले जासुसी गराएको भारतले आरोप लगाएको छ । राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, चीफ अफ डीफेन्स स्टाफ विपिन रावत सहित सरकारका बरिष्ठ मन्त्रीहरु, सांसदहरु, विपक्षी दलका नेताहरु, मुख्यमन्त्रीहरु, सेनाका वरिष्ठ अधिकारी, बरिष्ठ उद्यमीहरु र विभिन्न संस्थाहरु सहित १० हजार व्यक्ति तथा संस्थाको चीनले जासुसी गराएको आरोप भारतले लगाएको हो ।
झेन्हुआ डाटा इन्फरमेशन टेक्नोलोजी नामक एक चीन सरकार निकट कम्पनीमार्फत डाटा संकलन गरेर चीनले जासुसी गराएको भारतले दाबी गरेको छ । सो कम्पनीले दश हजार त्यस्ता व्यक्ति तथा संस्थाहरुको अलग अलग प्रोफाइल बनाएर जासुसीको जालो बिच्छयाएको भारतीय दाबी छ ।
कतिपय भारतीय मिडियाको पनि जासुसी गरिएको सुरक्षा स्रोतलाई उदृत गर्दै भारतीय मिडियाले सो समाचार प्रसारण गरेका छन् ।
भारतले यसअघी जासुसी समेत भएको आरोपमा २२४ चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।
यसैबीच अमेरिकी पत्रिका न्यूजवीकले भारत र चीनका सेनाबीच लद्धाखको गलवानमा १५ जुनमा भएको हिंसात्मक झडपमा चीनका कम्तिमा ६० सैनिक मारिएको दावी गर्दै समाचार प्रकाशन गरेको छ ।










