२५ प्रतिशत गम्भीर लक्षण भएका कोरोना संक्रमितहरु काठमाडौै उपत्यकामा

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १४:३७
;

काठमाडौं । कोरोनाभाइरसका सक्रिय सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकामा २५ प्रतिशत र अन्य क्षेत्रमा एक प्रतिशत लक्षणसहितका सङ्क्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले काठमाण्डू उपत्यकाका तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको देखाउँछ।

आइसोलेशनमा भएका सङ्क्रमितमध्ये गम्भीर लक्षण भएका बिरामीलाई अस्पतालमा भर्ना गरिएको र जटिलता भएका बिरामीलाई सघन उपचार उपलब्ध उपचार गराउनुपरेको अधिकारीहरू बताउँछन्।

दुई महिनाअघिसम्म लक्षणयुक्त सङ्क्रमितको सङ्ख्या देशभरि एक प्रतिशत पनि थिएन

तर त्यसपछि क्रमशः त्यो सङ्ख्या बढिरहेको र विशेष उपचार आवश्यक बिरामीको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको बताइन्छ ।

पहिला सङ्क्रमण पुष्टि भए पनि गम्भीर लक्षण नदेखिँदा मानिसहरूले कोरोनाभाइरसलाई हलुका रूपमा लिएको र लक्षणरहित व्यक्तिले प्रायः परीक्षण नगराउने भएकाले उनीहरूबाट सङ्क्रमण अझ फैलिन पुगेको विज्ञहरूको आशङ्का छ ।

को हुन् सङ्क्रमित र उनीहरू कहाँ छन्?

अधिकांश सङ्क्रमितहरू २१ देखि ४० वर्ष सम्मका भए पनि बालबालिका र वृद्धवृद्धामा पनि सङ्क्रमण देखिएको छ।

अस्पतालको शैय्या

पुरुषको सङ्ख्या बढी भए पनि महिलाको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको देखिन्छ ।

मन्त्रालयका अनुसार आइतवारसम्म नयाँ र निको हुने सङ्क्रमितको सङ्ख्या १५,१०० जति छ ।

तीमध्ये आधाभन्दा केही बढी संस्थागत आइसोलेशनमा छन् भने अरू घरमै छन् ।

संस्थागत आइसोलेसनमा बस्ने सबै जनामा लक्षण छैन । तर लक्षणयुक्त सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दै गएको अधिकारीहरूको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार तथ्याङ्क हेर्दा अन्य जिल्लाको तुलनामा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमितमा लक्षण देखिएको छ।

“समग्रमा हेर्दा बाहिरका जिल्लाहरूमा एक प्रतिशत देखिएको छ तर काठमाण्डू उपत्यकामा २५ प्रतिशत सङ्क्रमितमा लक्षण देखिएको छ,” उनले भने ।

दैनिक थपिने सङ्क्रमितमध्ये आधाजति उपत्यकाका तीन जिल्लामा हुने उनी बताउँछन् ।

अहिले कहाँ छन् धेरै सङ्क्रमित?. आइतवार अपराह्णसम्मको तथ्याङ्क. .

केही समययता काठमाण्डू उपत्यकामा दैनिक ५०० को हाराहारीमा नयाँ सङ्क्रमित फेला पर्ने गरेका छन् ।

आइतवार अपराह्णसम्म काठमाण्डू, ललितपुर र भक्तपुरमा ६,००० भन्दा बढी व्यक्तिमा सक्रिय सङ्क्रमण थियो ।

महिलाको सङ्ख्या बढ्नुको अर्थ के हो ?

लक्षण देखिने क्रमसँगै सबै उमेर समूहका मानिसमा सङ्क्रमण देखिएको र महिलाको सङ्ख्या पनि ३० प्रतिशतको हाराहारीमा पुगेको डा. पाण्डेले बताए ।

उनले भने, “पहिले महिलामा १० प्रतिशतभन्दा कम थियो तर अहिले समग्रमा ३० प्रतिशतभन्दा बढी सङ्क्रमण देखिएको छ। यो प्रारम्भिक चरणको समुदायस्तरको सङ्क्रमण हो भन्नेतर्फ पनि हामी हेर्दैछौँ ।”

त्यसको निर्क्योल गर्न यसअघि गर्ने भनिएको सिरोलजिकल परीक्षण भने सुरु भइसकेको छैन ।

यो साता परीक्षणका लागि खटाइने व्यक्तिहरूको छनोटको काम सकिने र उनीहरूलाई तालिम दिएर छिट्टै परिचालन गरिने अधिकारीहरू बताउँछन् ।

यसरी बढिरहेको छ कोइरानाभाइरस सङ्क्रमण. दुई हप्ताको तथ्याङ्क. .
कति बिरामी गम्भीर छन् ?

गम्भीर खालको लक्षण भएका र सघन उपचारकक्षमा राखेर उपचार गर्नुपर्ने सङ्क्रमितको सङ्ख्या बढदै जाँदा अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ।

आइतवारसम्म १६९ जना सङ्क्रमितलाई आईसीयूमा र २३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

तीमध्ये काठमाण्डू उपत्यकामा भएका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ ।

स्रोतः विविसी नेपाली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*