सिन्धुपाल्चोक पहिरोः ७४ जनाको मृत्यु, ४१ अझै बेपत्ता

हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १२:०१
;

सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा महिनायता मात्रै ७४ जनाको मृत्यु भएको छ भने हालसम्म ४१ बेपत्ता छन् ।

आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका–१२ र ९ मा गएको बाढीपहिरोले दुई जनाको मृत्यु भएको छ थियो भने एक जना अहिलेसम्म बेपत्ता छन् ।

सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम शुरु भएयता ७४ जनाको मृत्यु भएको छ । पहिरोमा हालसम्म ४१ जना हराइरहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।

पहिरोमा परी जिल्लाभर १ सय ३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् । बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाउँपालिकामा २०, जुगल गाउँपालिकामा २९ र सुनकोशी गाउँपालिकामा चार घर पहिरोले पूर्णरूपमा क्षति भएका हुन् । यस्तै बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन् ।

पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको एक हजार ४ सय ४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रमुख ढकालले बताएका छन् । यस्तै भोटेकोशीमा ८ सय ७५, जुगल गाउँपालिकामा ४ सय ८, मेलम्ची नगरपालिकामा १सय ४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाउँपालिकामा ८४, लिसङ्खुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने प्रमुख ढकालले बताए ।

जिल्लामा हालसम्म पहिरोका कारण मृतक परिवारलाई एकमुष्ट रु १० लाख, पहिरोले आवासविहीन बनाएका परिवारलाई रु ११ लाख ८५ हजार र पहिरोपीडितलाई रु १० लाख नौ हजार राहत वितरणसमेत गरिसकिएको प्रमुख ढकालले जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*