चार दिनपछि सुरु हुँदै आइपिएल

काठमाडौं । विश्वकै चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर (आइपिएल) १९ सेप्टेम्बरमा युएईमा सुरु हुँदै छ । १० नोभेम्बरसम्म चल्ने १३औँ संस्करणको आइपिएलमा सहभागी आठै टोलीका खेलाडी युएई पुगिसकेका छन् ।
इंग्ल्यान्ड र अस्ट्रेलियाबीच सिरिज चलिरहेका कारण यी दुवैै राष्ट्रका खेलाडी भने पछि मात्र युएई पुग्नेछन् । यसपटकको खेल–तालिकाअनुसार साबिक बिजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीच उद्घाटन खेल हुनेछ ।
इतिहासमा दोस्रोपटक दुबईमा आइपिएल लिग हुन लागेको हो । भारतबाहेक आइपिएल दक्षिण अफ्रिकामा पनि भइसकेको छ । भारतमा कोरोना भाइरस तीव्र रूपमा फैलिरहेकाले आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यसपटकको संस्करण दुबईमा गर्ने निर्णय गरेको हो । यद्यपि आइपिएल आयोजना गर्न श्रीलंकाले पनि इच्छा देखाएको थियो । तर, दुबईमा प्रतियोगिता गर्दा सुरक्षित हुने जनाउँदै बिसिसिआईले आइपिएल युएईमा गर्ने निर्णय गरेको हो । युएई, सारजहाँ र अबुधाबी सहरमा आइपिएल हुनेछन् ।
मुख्य आयोजकबाट भिभो आउट, ड्रिम ११ इन
यसपटक ड्रिम ११ कम्पनी आइपिएलको नयाँ मुख्य प्रायोजक हो । भिभो मुख्य आयोजकबाट हटेपछि बिसिसिआईले मुख्य स्पोन्सर्सका रूपमा ड्रिम ११ लाई छनोट गरेको हो । आइपिएलमा मुख्य प्रयोजक बन्न ड्रिम ११ र बिसिसिआईबीच दुई अर्ब २२ करोड भारुमा सम्झौता भएको छ । यसअघि भिभो पाँच वर्षसम्म मुख्य प्रायोजकको रूपमा रहेको थियो ।
आइपिएलको तयारी निमित्त सहभागी आठै टोलीका खेलाडीले अभ्यास थालनी गरेका छन् । खेलाडीलाई कोरोना भाइरसबाट सुरक्षित राख्न नियम तोकेको छ । दुबई पुगेका हरेक खेलाडी अनिवार्य आइसोलेसनमा बस्नुपर्नेछ । एक सातापछि उनीहरूको कोरोना परीक्षण हुनेछ । रिपोर्ट पोजेटिभ आए मात्रै प्रतिस्पर्धामा उत्रनेछन् । नगेटिभ आए पुनः आइसोलेसनमा बस्नुपर्ने हुन्छ । कुनै खेलाडी संक्रमित भए, उनको स्थानमा जोकोही खेलाडी समावेश गर्न सकिन्छ । बिसिसिआईले अनलिमिटेड विस्थापन खेलाडीको प्रावधान निकालेको छ ।
दर्शकरहित हुने आइपिएलमा चियर्स गल्र्सको व्यवस्था स्क्रिनमा हुनेछ । उनीहरूले प्रत्येक चौका, छक्का प्रहार र ओभर समाप्तिपछि खेलाडीलाई मनोरञ्जन प्रदान गर्नेछन् । भिडियो स्क्रिनमा यस्तो मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ । योपटक आइपिएलमा तीन सय ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । १३औँ आइपिएलकै महँगा खेलाडी अस्ट्रेलियाका प्याट क्युमिन्स हुन् । कोलकता नाइट राइडर्सले उनलाई १५ करोड ५० लाख भारुमा किनेको हो ।
विदेशी खेलाडी नै महँगा
यसपटक भारतीय खेलाडी अक्सनमा चुकेका छन् । अलराउन्डर युवराज सिंह कुनै समय आइपिएलकै सर्वाधिक महँगा खेलाडीमा गनिन्थे । पछिल्लो समय उनको ब्रान्ड भ्यालु घटेको देखिन्छ । बलिउड नायक शाहरुख खानको स्वामित्वमा रहेको कोलकाताले आइसिसी टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा रहेको क्युमिन्सलाई साढे १५ करोड बोली लगाउँदा अन्य कसैले पनि दाबी गर्न सकेनन् । कोलकाता अक्सनमा राम्रा खेलाडी भित्र्याउन कन्जुस्याइँ गर्दैन । सन् २०१७ को सिजनमा इंग्लिस अलराउन्ड वेन स्टोक्समाथि १४ करोड ५० लाख भारु खर्चेको थियो ।
अस्ट्रेलियाकै अर्का अलराउन्डर ग्लेन म्याक्सबेल किंग्स ११ पन्जाबमा १० करोड पाँच लाख भारुमा अनुबन्धित भए । यसपटक शीर्ष पाँच महँगा खेलाडीमा विदेशीकै राज छ । दक्षिण अफ्रिकाका क्रिस मोरिसलाई रोयल च्यालेन्जर्स बेंग्लोरले १० करोड भारुमा किन्न सफल भयो । किंग्स ११ पन्जाबले वेस्टइन्डिजका सेल्डोन काल्टरलाई आठ करोड ५० लाख भारुमा भित्र्याएको थियो ।
अक्सनमा को हाबी ?
गत १९ डिसेम्बरमा आइपिएलको अक्सन भएको थियो । जसमा तीन सय ३२ खेलाडी अक्सनमा थियो । सहभागी आठ फ्रेन्चाइज टोलीले खेलाडीसँग सम्झौता नवीकरण गर्दा ८५ करोड भारु खर्चिए । अक्सनमा एक खेलाडीको औसत मूल्य २० लाख भारुदेखि दुई करोड भारुसम्म राखिएको थियो । यसपटक रोयल च्यालेन्जर्स बेंग्लोरले केवल दुई विदेशी खेलाडीसँग मात्र सम्झौता नवीकरण गरेको छ । बेंग्लोरले दक्षिण अफ्रिकी खेलाडी एबी डी भिलियर्स तथा इंग्लिस खेलाडी मोइन अलीसँग मात्र नवीकरण गरेको हो । बेंग्लोरले ११ स्थानीय खेलाडीलाई प्राथमिकतामा राखेको छ ।
यसैगरी किंग्स ११ पन्जाबले १६ खेलाडी रिटेन गरेको छ । यसक्रममा पन्जाबले ४२ करोड ७० लाख भारु खर्चियो । अनिल कुम्ब्लेको प्रशिक्षणमा रहेको पन्जाबले लोकेश राहुल तथा वेस्टइन्डिजका क्रिस गेललाई यथावत् राख्यो । चेन्नई सुपरकिंग्सले यसपटक अक्सनका लागि १४ करोड ६० लाख भारु बजेट राखेको थियो । यसैगरी दिल्ली क्यापिटल्सको २७ करोड ८५ लाख भारु बजेट देखिन्छ । दिल्लीले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई रिटेन गरेको छ । सन्दीपको यो तेस्रो आइपिएल हुनेछ ।
स्टार खेलाडी भित्र्याउनका लागि किंग्स ११ पन्जाबले ४२ करोड ७० लाख भारु खर्चियो । खर्चिलो टोली मानिने कोलकाताले यसपटक अक्सनमा त्यति धेरै खर्च गरेन । यसपटक कोलकाता ३६ करोड ६५ लाख भारुका साथ अक्सनमा उपस्थित भयो । विश्वकै धनाढ्य अम्बानी परिवारको स्वामित्वमा रहेको मुम्बई इन्डियन्सको बजेट तुलनात्मक रूपमा थोरै रह्यो । मुम्बई अक्सनमा केवल १३ करोड भारु मात्र खर्चिएको थियो ।
पूर्वविजेता राजस्थान रोयल्सले ११ खेलाडी भित्र्याउन २८ करोड ९० लाख भारु खर्चिएको थियो । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरको बजेट २७ करोड ९० लाख भारु थियो । सनराइजर्स हैदरावादले सात खेलाडीका लागि १७ करोड भारु खर्च गरेको थियो । यसपटक ४५ चरणमा खेलाडी किनबेच भएको थियो । नौ सय ९७ खेलाडीले आफूलाई ड्राफ्टमा राखे ।
विजेता धनराशि घट्यो
विश्व नै कोरोना भाइरसबाट आक्रान्त बनेको समयमा आइपिएल हुँदै छ । यसकारण कोभिड–१९ ले यसलाई आइपिएल प्रभावित नहुने कुरै भएन ।
कोरोना महामारीअघि अक्सनमा खेलाडीहरूमाथि करोडौँ खर्च भएको थियो । त्यही अनुपातमा विजेता धनराशि पनि राखिएको थियो । अहिले मुख्य आयोजक बिसिसिआईले विजेता धनराशिमा कटौती गरेको छ । यसपटकको विजेताले १० करोड र उपविजेताले ६ करोड २० लाख भारु पाउनेछन् । यसैगरी तेस्रो र चौथो स्थानमा रहने टोलीले समान चार करोड ३७ लाख भारु पाउने उल्लेख छ । गत वर्षको तुलनामा यसपटक ५० प्रतिशत विजेता धनराशि घटेको छ । सन् २०१८ र २०१९ को विजेताले २० करोड भारु र उपविजेताले १२.५ भारु पाएका थिए । यसैगरी सन् २०१९ मा तेस्रो र चौथो हुने टोलीले आठ करोड ७५ लाख भारु पाएका थिए ।
कस्ता छन् कप्तान ?
साविक विजेता मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा लक्की नै छन् । आइपिएलको इतिहासमा उनी सर्वाधिक सफल कप्तान हुन् । रोहितको कप्तानीमा मुम्बईले चारपटक उपाधि जित्यो । सन् २०२० को सिजनमा पनि मुम्बईका समर्थकले लक्की कप्तानीले उपाधि दिलाउने अपेक्षा राखेका छन् ।
रोहितपछि महेन्द्रसिंह धोनी सफल कप्तानमा पर्छन् । भारतीय क्रिकेट इतिहासकै सबैभन्दा सफल कप्तानी ठहरिएका धोनीले चेन्नई सुपरकिंग्सको कप्तानी गर्छन् । आइपिएलको तथ्यांकअनुसार धोनीलाई सर्वाधिक सफल कप्तानभन्दा फरक नपर्ला । उनको कप्तानीमा चेन्नईले तीनपटक उपाधि जितेको थियो । यसैगरी धोनीले चेन्नईलाई पाँचपटक उपविजेता बनाए । यस अर्थमा चेन्नईले धोनीको नेतृत्वमा आठपटक फाइनल खेल्यो ।
भारतका अनुभवी विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले कोलकाता नाइट राइडर्स हाँकेका छन् । कोलकाताले आइपिएल उपाधि उचाल्दा उनी नै कप्तान थिए । सन् २०१८ मा कोलकाता प्लेअफमा पुगेको थियो । सन् २०१९ को संस्करणमा झिनो अन्तरले कोलकाता प्लेअफमा पुग्न सकेन । यसपटक कोलकाताका प्रशिक्षक ब्रेन्डोन म्याककुलम छन् ।
अस्ट्रेलियाका विस्फोटक ओपनर डेभिड वार्नरले सनराइजर्स हैदरावादको कप्तानीको जिम्मेवारी लिएका छन् । सन् २०१८ मा वार्नरले न्युजिल्यान्डका कप्तान केन विलियम्सनलाई विस्थापित गर्दै कप्तानी जिम्मेवारी सम्हालेका थिए । वार्नरकै कप्तानीमा सन् २०१६ मा हैदरावादले पहिलोपटक उपाधि जितेको थियो । सन् २०१९ को सत्रमा वार्नर सर्वाधिक रनकर्ता बनेका थिए ।
अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ प्रतिबन्ध सकाएर अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएपछि राजस्थानबाट आइपिएल खेले । यसअघि राजस्थानको कप्तानी अजिन्का राहनले गरेका थिए । आइपिएलको पहिलो सिजनको उपाधि राजस्थानले जितेको थियो । त्यसपछि राजस्थान उपाधिविहीन छ । भारतीय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बेंग्लोरमा एक से एक खेलाडी भए पनि उपाधि जित्न सकेको छैन । सन् २०१६ पछि बेंग्लोर प्लेअफमै पुग्न सकेको छैन । पछिल्लो तीन सिजनमा बेंग्लोर छैटौं भएको थियो । यसपटक बेंग्लोरले राम्रा खेलाडी भित्र्याएको छ ।
दिल्ली क्यापिटल्सको भरोसा श्रेयास इयर हुन् । २५ वर्षीय श्रयर सन् २०२० को आइपिएल सिजनका सबैभन्दा युवा खेलाडीमा पर्छन् । सन् २०१८ मा उनले गौतम गम्भीरलाई कप्तानीमा विस्थापित गरेका थिए । किंग्स ११ पन्जाबका कप्तानी लोकेश राहुलले गरेका छन् । सन् २०१९ देखि नै उनले कप्तानीको जिम्मेवारी सम्हालेका थिए । सन् २०१९ को अक्सनमै पन्जाबले राहुल कप्तान भएको घोषणा गरेको थियो । लोकेशले सन् २०१८ मा पाँच सय ९३ रन र सन् २०१९ मा ६ सय ८४ रन जोडेका थिए । यसपटक पनि उनको ब्याटिङ चल्ने विश्वास छ ।
१३औँ आइपिएलका पाका खेलाडी
आइपिएल सुरु हुँदा एउटा पक्ष सधैँ चर्चा हुने गर्छ । यस सिजनमा को खेलाडी पाका छन् । १३औँ सिजनमा धेरै पाका खेलाडी रहने पक्का छन् । चेन्नईका कप्तान महेन्द्रसिंह धोनी ३९ वर्षका भएका छन् । उनका सहयोगी सेन वाट्सन पनि पाका खेलाडीमै पर्छन् । भारतीय खेलाडी प्रवीण ताम्बे सबैभन्दा पाका खेलाडी हुन् । उनी ४८ वर्षका छन् । प्रवीणको फिटनेसमा कमी आएको छैन । दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिर चेन्नईबाट खेल्छन् । उनी ४१ वर्षका हुन् । यसैगरी पन्जाबका क्रिस गेल (४०), दिल्लीका अमित मिश्रा (३७) र बेंग्लोरका डेल स्टेन (४०) वर्षका छन् ।
यसअघिका विजेता टिम
सन् | विजेता | उपविजेता | उत्कृष्ट खेलाडी |
२०१९ | मुम्बई | चेन्नई | एन्ड्रे रसेल |
२०१८ | चेन्नई | हैदराबाद | सुनिल नारिन |
२०१७ | मुम्बई | पुने | वेन स्टोक्स |
२०१६ | हैदराबाद | बेंग्लोर | विराट कोहली |
२०१५ | मुम्बई | चेन्नई | एन्ड्रे रसेल |
२०१४ | कोलकाता | किंग्स ११ | ग्लेन म्याक्सबेल |
२०१३ | मुम्बई | चेन्नई | सेन वाट्सन |
२०१२ | कोलकाता | चेन्नई | सुनिल नारिन |
२०११ | चेन्नई | बेंग्लोर | क्रिस गेल |
२०१० | चेन्नई | मुम्बई | सचिन तेन्दुलकर |
२००९ | डेकन | बेंग्लोर | एडम गिलक्रिस्ट |
२००८ | राजस्थान | चेन्नई | सेन वाट्सन |
(एजेन्सीको सहयोगमा)