बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउनुपर्छः इमरान खान
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बढ्दो यौनहिंसा रोक्नका लागि बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउने अथवा रसायन प्रयोग गरेर ती व्यक्तिका अण्डकोष झिक्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री खानले ९२ न्युज एचडीसँगको अन्तर्वार्ताका क्रममा सामुहिक बलात्कार बढ्दै गएको विषयमा गरिएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् । प्रधानमन्त्री खानले ‘मोटरवे ग्याङ रेप’ ले सिंगो मुलुकलाई नै त्रसित बनाएको घटना भएको बताएका छन् ।
उनले भने, “प्रहरीले सार्वजनिक गरेको बलात्कारका उजुरीले म ‘स्तब्ध’ भएको छु । बलात्कार गर्नेहरुलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ ।”
उनले थपे, “दुर्भाग्यवश, हामीले झण्ड्याउने कुरा गरे पनि अन्तर्राष्ट्रियरुपमा सार्वजनिक स्थलमा झुण्ड्याउने कुरा स्वीकार्य हुँदैन ।”
उनले अर्को विकल्प भनेको रसायनिक तथा सर्जिकल विधिबाट उनीहरुका अण्डकोष निकाल्न अथवा निस्क्रिय पार्न सकिनेसमेत बताएका छन् ।
पाकिस्तानमा गत हप्ता पञ्जाब प्रान्तको लाहोर सहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर उनको कारमासमेत तोडफोड गरी कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो ।
त्यसपछि उनका गरगहना पनि लुटिएको थियो । यस घटनापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरु भएका छन् । उक्त घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये अविद अलि भनिने व्यक्ति सन् २०१३ मा भएको एक सामुहिक बलात्कारमा पनि संलग्न भएको पाइएको छ । प्रधानमन्त्री खानले यस्ता व्यक्तिहरुलाई तत्कालै कानुन बनाएर कारबाही गर्नुपर्ने बताए ।