भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

हेटौडा न्युज
३१ भाद्र २०७७, बुधबार ११:४६
;

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० लाख नाघेको हो ।

मंगलबार मात्रै थप ९० हजार १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक हजार २ सय ९० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार ६६ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ७८.५३ प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ८२ हजार सय ६१ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म ३९ लाख ४२ हजार ३ सय ६० जना निको भएका छन् भने करिब ९ लाख ९५ हजार संक्रिय केस रहेका छन् ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्आ (ईसीएमआर) का अनुसार मंगलबार ११ लाख १६ हजार ८ सय ४२ नमुना परीक्षण भएको छ । भारतमा मंगलबार साँझसम्म ५ करोड ९४ लाख २९ हजार १ सय १५ नमुना परीक्षण भएको छ ।

कोरोना संक्रमणका हिसाबले भारत विश्वमै दोस्रो प्रभावित मुलुक हो । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बुधबार बिहानसम्म ६६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा हालसम्म एक लाख ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब २५ लाख निको भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*