भारतमा बाल–विवाह र बेचबिखनको घटना बढ्यो
काठमाडौं । भारतमा बाल–विवाह र बेचबिखनका घटना बढेका छन् । बीबीसीका अनुसार कोरोना भाइरसको महामारीपछि बढेको बेरोजगारीका कारण बालविवाह र बेचबिखनका घटनामा वृद्धी भएको छ ।
कोरोनाको महामारीपछि बेरोजगारी बढेको, विद्यालय बन्द भएका जस्ता कारणले भारतमा बालिकाहरु जोखिममा परेका छन् ।
घरको आर्थिक स्थिति कमजोर भएका कारण बालिकाहरुको सानै उमेरमा नै विवाह गरिदिने घटना बढेका छ्न् ।
भारतको कानुनले १८ वर्षमुनिका बालिकाको विवाहमा रोक लगाएको छ । संयुक्त राष्ट्र सङ्घीय बालकोष यूनिसेफका अनुसार भारतमा हरेक वर्ष १५ लाख बालिकाको कम उमेरमा नै विवाह हुने गरेको छ ।
कोरोनापछिको लकडाउनका कारण रोजगारी गुमाएपछि एक करोड मानिस घर गाउँ फर्किएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । गाउँ फर्किएका केही अभिभावकले छोरीको सानै उमेरमा विवाह गरिदिने गरेका छन् ।










