मुसहर बस्ती हस्तान्तरण गर्दै प्रदेश सरकार

हेटौडा न्युज
२ आश्विन २०७७, शुक्रबार १३:४४
;

मकवानपुर । बागमती प्रदेश सरकारले सिन्धुलीमा मुसहर समुदायलाई घर हस्तान्तरण गरेको छ । प्रदेश सरकारद्वारा निर्माण सम्पन्न गरि ३ सय ५५ वटा घरहरु मुसहर समुदायलाई हस्तान्तरण गरेको हो ।

आज एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले
मुसहर समुदायका लागि सिन्धुलीको दुधौली नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएका घरहरु हस्तान्तरण गरेका हुन् ।

सरकारले आबासविहीन मुसहरसहितका दलित जातीका लागि प्रदेश सरकारले घर निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको थियो । सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर ७ र ९ मा एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अतिसिमान्तकृत जाती समुदाय मुसहर जातीहरुका लागि एकीकृत बस्ती निर्माण गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका घरहरु हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले दोलखाको भीमेश्वर ४ मा जिलु एकीकृत बस्ती विकास कार्यक्रमका लागि दुई करोड, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ का लागि २ करोड ५० लाख, सिन्धुपाल्चोकको इन्द्रावती ५ मा प्युघर भदौरे एकीकृत माझी बस्ती विकासका लागि १ करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्ती विकास कार्यक्रमका लागि ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोकगढीमा झ्याडी एकीकृत नमूना माझी बस्ती विकास कार्यक्रमका लागि ४० लाख, धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि ४५ लाख बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*