सातजना कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी : डब्ल्यूएचओ

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित भएका मानिसहरुमा औसतमा सातजनामध्ये एकजना स्वास्थ्यकर्मी रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओले बिहीबार दिएको जानकारी अनुसार केही मुलुकमा भने कोरोनाबाट संक्रमित हुने स्वास्थ्यकर्मीको हिस्सा तीन जनामा एक छ ।
डब्ल्यूएचओले सबै मुलुकहरुलाई फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट बचाउन आवश्यक पीपीईको व्यवस्था गर्न आग्रह गरेको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले भने, ‘विश्वव्यापीरुपमा करिब १४ प्रतिशत कोरोना संक्रमित स्वास्थ्यकर्मीहरु छन् । साथै केही मुलुकमा भने ३५ प्रतिशतसम्म संक्रमित स्वास्थ्यकर्मी छन् ।’
यद्यपि उनीहरु आफ्नो काममा नै संक्रमित भएको वा समुदायबाट संक्रमित भएको भन्ने थाहा पाउन निकै कठिन हुने गेब्रेयेससले बताए । ‘संक्रमणको जोखिम मात्र पनि होइन, प्रत्येक दिन स्वास्थ्यकर्मीहरुले तनाव, कलंक, भेदभाव र हिंसासम्मका घटनाहरुको सामना गर्नुपर्ने हुन्छ ।
अन्तर्राष्ट्रिय नर्स परिषद्का अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण एक हजारभन्दा धेरै नर्सहरुको मृत्यु भइसकेको छ ।
स्रोत : रोयटर्स