४१ औं सामाजिक सेवा दिवस हेटौंडामा
मकवानपुर । उपभोक्ता हित संरक्षण मञ्च, मकवानपुरको आयोजनामा ४१ औं सामाजिक सेवा दिवस आज हेटौंडामा सम्पन्न भएको छ । मञ्चका जिल्ला अध्यक्ष मदन रिमालको नेतृत्वमा हेटौंडाको बुद्धचौकमा मञ्चमा आबद्ध सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । सहभागीहरुले उपभोक्ताहरुको हकहितका विभिन्न नारा लेखिएको प्लेकार्ड सहित उपस्थित भएका थिए ।
मञ्चको आयोजनामा भएको सो कार्यक्रममा सहभागीहरुले “बजार अनुगमन नियमित गरियोस्”, “काला बजारी गर्नेलाई कार्वाही गरियोस्”, “ग्याँसमा कालो बजारी गर्नेलाई कार्वाही गरियोस्” जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
कार्यक्रममा मञ्चका जिल्ला अध्यक्ष रिमालले केही समय अघि हेटौंडामा सहारा ग्याँस उद्योग र बाबा ग्याँस उद्योगको खाना पकाउने ग्याँस कम तौलको बजारमा बिक्री वितरण गरेको मञ्चले सप्रमाण फेला पारेर जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएको महिनौ हुँदासमेत कार्वाही नगरेकोमा प्रशासन प्रति रोष प्रकट गरेका थिए ।
कार्यक्रममा मञ्चका मकवानपुर उपाध्यक्ष, शान्ति सुवेदी (शान्तिप्रिय बन्दना), नगर अध्यक्ष जुना मल्ल, नगर सचिव सरोज बिडारी सहित उपभोक्ताकर्मीहरुको सहभागिता रहेको थियो ।










