हप्तामा २ दिन बिदाको तयारीमा पर्यटन मन्त्रालय

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय हप्ताको २ दिन सार्वजनिक बिदा दिने आन्तरिक गृहकार्यमा जुटेको छ । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्बाट गराउन मन्त्रालय आन्तरिक गृहकार्यमा जुटेको हो ।
मन्त्रालयले बिहीवार ७ सदस्यीय समिति गठन गरेको र समितिले यस बारे थप तयारी गर्ने बताइएको छ ।
मन्त्रालय र मातहतका सबै निकाय सम्मिलित उच्चस्तरीय बैठक बसी यसबारेमा अध्ययन तथा प्रतिवेदन पेश गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको प्रशासन तथा योजना महाशाखाको संयोजकको नेतृत्वमा गठित सो समितिमा मन्त्रालयबाट २ जना, पर्यटन बोर्ड, पर्यटन विभाग, अर्थमन्त्रालय, सामान्य प्रसासन मन्त्रालय लगायतबाट सदस्य रहेका छन् ।
उनका अनुसार समितिले २ महिनाभित्रमा यसबारे अध्ययन गर्नेछ ।
अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले यो निर्णय कार्यान्वयन गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने छ ।
त्यसपछि मन्त्रिपरिषद्ले यस प्रस्तावलाई स्विकृत गरेमा मुलकमा हप्तामा २ दिन सार्वजनिक विदा हुनेछ ।