प्रहरी हिरासतमा आत्महत्या प्रयास गर्ने बकैयाका वाइबाको मृत्यु

मकवानपुर । प्रहरी हिरासतमै रहेका बेला आत्महत्या प्रयास गर्ने एक युवकको मृत्यु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–६ गडुवानमा भदौ १४ गतेदेखि हराएका एक बालकको हत्यामा संलग्न भएको अभियोगमा प्रहरी हिरासतमा रहेका बकैया–६ गडुवानका २९ वर्षीय सुवास वाइबाको उपचारको क्रममा मृत्यु भएको हो ।
उनको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भदौ २३ गते हिरासत कक्षभित्रै शौचालयमा आत्महत्या प्रयास गरेका वाइबालाई उपचारका लागि भरतपुर लगिएको थियो ।
वाइबासँगै पक्राउ परेका मंगलसिंह वाइबा भने जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमै रहेका छन् ।