एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद, १० लाखसम्म जरिवाना
काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । एसिड आक्रमणका घटना बढेपछि सरकारले विद्यमान ऐन तथा कानूनमा संशोधन गर्ने गरी नयाँ अध्यादेश ल्याएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो ।
बैठकले एसिड आक्रमण गर्ने दोषीलाई २० वर्षसम्म कैद र १० लाख रूपैयाँसम्म जरिवाना गर्ने गरी सरकारले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ ल्याएको हो ।
राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउनेछ ।










