कोरोनाविरुद्धको खोप आए पनि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौं । कोरोनाभाइरसविरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभरि कोभिड-१९ सँग सम्बन्धि कारणले ज्यान गुमाउने मानिसको सङ्ख्या २० लाख नाघ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।
डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ बढी हुनसक्ने बताएका छन् ।
गत वर्षको अन्त्यमा चीनमा कोभिड-१९ देखा परेयता यस रोगबाट अहिलेसम्म ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १० लाख पुग्न लागेको छ ।
सङ्क्रमितहरू बढ्ने क्रम जारी रहँदा अहिलेसम्म विश्वभरि तीन करोड २० लाखभन्दा बढी मानिसमा यो भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको छ ।
हिउँद आउन लाग्दा उत्तरी गोलार्धका थुप्रै देशमा सङ्क्रमणको दोस्रो लहर सुरु हुन लागेको देखिन्छ ।
किन चेतावनी
माइक रायनका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअगाडि नै थप १० लाख मानिसको मृत्यु हुने उच्च सम्भावना छ ।
उनले यस रोगको उपचार पद्धतिमा सुधार आइरहँदा मृत्युदर भने घटिरहेको बताए ।
तर उनले भने, “सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छन् ।”
रायनले सरकारहरूलाई कोभिड-१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अवलम्बन गर्न आग्रह गरेका छन् ।
“जबसम्म हामी सबथोक गर्दैनौँ तपाईँले भनिराखेको सङ्ख्या काल्पनिक मात्र हुनेछैन। बरु दुर्भाग्यवश त्यो निकै सम्भावित हुनेछ ।”
युरोपमा फेरि चिन्ता
केही दिनयता युरोपमा फेरि ठूलो सङ्ख्यामा देखिने क्रम सुरु भएको छ ।
त्यसले गर्दा पहिलो लहर उत्कर्षमा रहेका बेला लगाइए झैँ देशव्यापी लकडाउन हुनसक्ने चेतावनी दिइएको छ ।
युरोपको अवस्थाबारे डा. रायनले भने, “समग्रमा उक्त विशाल क्षेत्रमा हामीले यस रोगको चिन्ताजनक वृद्धि देखिरहेका छौँ ।”
उनले युरोपेलीहरूले लकडाउन लगाउने अवस्था छल्नका लागि के पर्याप्त कामहरू गरिएको छ त भनेर आफैँलाई प्रश्न गर्न आग्रह गरे ।
परीक्षण र सङ्क्रमितको संसर्गमा आएका व्यक्तिको पहिचान, क्वारन्टीन र सामाजिक दूरीको कायम गर्ने जस्ता विकल्पहरू लागु भए नभएको समेत मूल्याङ्कन गर्न आग्रह गरे ।
डब्ल्यूएचओ मुख्यालय जिनिभामा बोल्दै उनले भने, “लकडाउन भनेका अन्तिम विकल्प हुन् ।”
विश्वको अवस्था
अहिलेसम्म अमेरिका, भारत र ब्रजिलमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।
यी तीन देशको कुल सङ्क्रमितको सङ्ख्या मात्र डेढ करोडभन्दा माथि छ ।
अमेरिकाका अग्रणी सङ्क्रामक रोग विज्ञ एन्थनी फाउचीले आफ्नो देशमा अहिलेसम्म सङ्क्रमणको पहिलो लहर नै अन्त्य नभएको बताए ।
उनले सीएनएनसँग भने, “दोस्रो लहरको कुरा गर्नुभन्दा किन हामीले हिउँद वा शरद्का लागि तयार हुने कुरा नगर्ने?”
अमेरिकामा अहिलेसम्म यो भाइरसबाट ७० लाखभन्दा बढी सङ्क्रमित भएका छन् । कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित कारणले दुई लाख जनाभन्दा बढीको मृत्यु भएको छ ।
त्यसपछि रहेको भारतमा ५८ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यहाँ ९२,००० जनाभन्दा बढीले त्यहाँ ज्यान गुमाइसकेका छन् ।
स्रोतः विविसी नेपाली