४ जना एसिडपीडितले पाए रोजगारी
दुई युवतीलाई उपत्यका, एकलाई हेटौंडामा र एक पुरुषमहान्यायाधिवक्ता कार्यालयको चालकमा नियुक्त
काठमार्डौं । एसिड पीडित ४ जनाले रोजगारी पाएका छन् । एसिड पीडित ३ जना युवतीले कुमारी बैंकमा रोजगारी पाएका छन् भने एक पुरुषलाई महान्यायाधिवक्ताको कार्यालयले चालकमा करार नियुक्ति दिएको हो ।
हेटौंडाकी विन्दबासिनी कंसाकार तथा काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगरलाई कुमारी बैंकले रोजगारी दिएको एसिड अपराध विरूद्ध क्रियाशिल उज्जवलविक्रम थापाले जानकारी दिएका छन् ।
कुमारी बैंकले एसिड पीडित दुई जना युवतीलाई उपत्यका र एक जनालाई हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो ।
सरकारले एसिड आक्रमण गर्नेविरुद्ध अध्यादेशमार्फत् अधिकतम २० वर्षसम्म कैद, १० लाख रुपैयाँसम्म जरिवाना तथा उपचार खर्च निःशुल्क हुने गरी मन्त्रिपरिषदबाट कानुन पारित गरेको छ ।