मकवानपुरका विद्यार्थी संगठनको संघर्ष कार्यक्रम सार्वजनिक

मकवानपुर । मकवानपुरका विद्यार्थी संगठनहरुले संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । पछिल्लो समय मकवानपुरका निजि तथा सामुदायिक विद्यालय र कलेजले अनलाईन कक्षाका नाममा विद्यार्थीहरुसंग चर्को शुल्क असुलेको भन्दै आउँदो असोज १५ गतेदेखि संघर्षका कार्यक्रम सुरु गर्ने भएको हो ।
गत भदौ २९ गते हेटौंडा उपमहानगरपालिका र जिल्ला शिक्षा समन्वय ईकाइ हेटौंडालाई हालको अवस्थाको मध्यनजर गर्दै आफ्ना माग पत्र बुझाएका संगठनले असोज ७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएका थिए । पटक पटकको पहलपछि पनि सम्वन्धित निकायबाटै आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै संघषमा उत्रिनु परेको उनीहरुको भनाई छ ।
आज हेटौंडामा भएको एक पत्रकार सम्मेलनमाफ्त आफ्ना संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियू मकवानपुरका संयोजक किशन घिसिङले कुनै पनि शैक्षिक संस्थाले अनलाईन कक्षाको नाममा शुल्क उठाउनु अवैधानिक भएको बताए । उनले सरकारी निती विपरित स्कुल तथा कलेजहरुले विद्यार्थी तथा अभिभावकहरुलाई शुल्क तिर्न बाध्य पारेको आरोपसमेत लगाए । यस विषयमा आफुहरुले बारम्बार आवाज उठाएको तर सम्बन्धित निकायसमेत मौन रहेको उनको भनाई छ ।
संघर्षका कार्यक्रमहरु
विद्यार्थी संगठनहरुले सार्वजनिक गरीएको संघर्षका कार्यक्रम अनुसार असोज १५ गते विहान ११ बजेदेखि १२ बजेसम्म (१ घण्टा) हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखा घेराऊ गर्ने ।
असोज १६ गते ११ बजेदेखि १२ बजेसम्म (१ घण्टा) हेटौंडा उपमहानगरपालिकाको गेटमा कालोपट्टि बाधेर धर्ना दिने ।
असोज १८ गते सम्पुर्ण शैक्षिक संस्थाको लेखा शाखामा ताला लगाउने ।
असोज १९ गते हेटौंडाको बुद्धचोकमा संघषका कार्यक्रमकाबारे प्ले कार्डसहित सचेतनामुलक प्रदर्शन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।