ज्यान लिनेसम्मका विषाक्त रसायन मिसाइएका स्यानिटाइजर बजारमा

काठमाडौं । औषधि व्यवस्था विभागले तीन साता अवधिमा बजारमा १८ कम्पनीका स्यानिटाइजर विषाक्त रहेको भेटाएको हो । बजारबाट संकलन गरेको नमूनाबाट राष्ट्रिय औषधि प्रयोगशालामा गरेको परीक्षणमा मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला परेको हो ।
ती कम्पनीका स्यानटाइजरको उत्पादन, प्रयोग र बिक्रीमा रोक लगाइएको छ ।
बजारमा भेटिएका विषाक्त स्यानिटाइजरमा मिथानोल मिसाइएको पाइएको र बजारमा हुन सक्ने यस्ता अन्य उत्पादनको खोजी ब्यापक बनाएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताउँछन् ।
स्यानिटाइजरमा मिसाइएको मिथानोल मानवीय प्रयोगका लागि होइन । यसले मानिसमा श्वासप्रश्वास, मुख, छाला, र आँखाको माध्यमबाट शरीरमा नाकारात्मक असरहरु देखा पर्छ । खोकी लाग्ने, टाउको दुख्ने, रिंगाटा तथा वाकवाक लाग्ने, वान्ता हुने जस्ता असरहरु देखा पर्छ ।
यस्तै श्वास फेर्न अप्ठ्यारो हुने, छाला सुख्खा तथा रातो हुने दृष्टि गुम्न सक्ने र मानिसको ज्यान समेत जानसक्ने विभागले प्रष्ट्याएको छ । यसअघि यस्तै पदार्थ मिसाइएको विषाक्त रक्सीका कारण मानिसको मृत्यु भएको विभागका सूचना अधिकारी केसीले बताए ।
विभागका अनुसार सिभिका कस्मेक्युटिकल्स लिमिटेडले उत्पादन हर्बलट्री ह्यान्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्यान्ड स्यानिटाइजर र क्लिन हृयाण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट हृयाण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्यान्ड स्यानिटाइजर (पहेंँलो रङ्गको) र रङ्गबिनाका दुई सेनिटाइजर उद्योगका उत्पादनमा विषाक्त रसायन फेला परेको थियो ।
स्यानिटाइजरका कारण शंकास्पद रुपमा स्वास्थ्य समस्यामा परेको भए सम्पर्क गर्न सर्वसाधरणलाई विभागले आग्रह समेत गरेको छ ।