निर्मलाको बलात्कार र हत्याको तीव्र रूपमा अनुसन्धान भइरहेको छः आईजीपी थापा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी क्षेत्रीले छिटो निष्कर्षमा पुग्ने गरी काम भइरहेको बताएका हुन् ।
आईजीपी थापाले घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट अधिकृत पठाइएको र अनुसन्धान भइरहेको बताए ।
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका पन्तको २०७५ साउन १० गते महेन्द्रनगरमा हत्या गरिएको थियो । उक्त घटनामा स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीनको माग गरेका थिए ।
प्रहरीविरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो ।