सुबेदीको पहलमा रोहनको उपचार सफल

हेटौडा न्युज
१४ आश्विन २०७७, बुधबार २०:२१
;

मकवानपुर । गत श्रावणदेखि गुइलेन–ब्यारी सिन्ड्रोम (मांसपेशी कमजोर हुँदै जाने गम्भीर प्रकृतिको रोग) बाट थलिएका हेटौंडा उपमहानगरपालिका वडा नं ४ बस्ने कुल बहादुर मगर (रोहन) उपचार पाएपछि निकै हर्षित बनेका छन् ।

आर्थिक अभावका कारण बाँच्ने आश गुमाइसकेका रोहनले सहयोगी हातहरु जुट्दा नयाँ जीवन पाएका हुन् ।हेटौंडा–४ का युवा एवम् रोहनका साथी प्रकाश सुवेदीले उनलाई बचाउन चलाएको अभियानबाट उपचार खर्च जुटेको हो ।

चितवनस्थित भरतपुर अस्पतालमा उपचार गराएका रोहनलाई वुधबार (आज) सुवेदीले अभियानबाट उठेको रकम हस्तान्तरण गरेका छन् । सुवेदीले रोहनको उपचारका लागि संकलित ६ लाख ३३ हजार रुपैयाँ चितवन पुगेर हस्तान्तरण गरेका हुन् । उनको उपचारमा कुल ७ लाख ५० हजार रुपैयाँ खर्च भएको सुवेदीले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देलको पहलमा अस्पतालले ८६ हजार रुपैयाँ छुट समेत गरेको उनले बताए ।

देश विदेशबाट प्राप्त सहयोगले कसैको जीवन बचाउन पाउँदा खुशी लागेको अभियान्ता सुवेदीले बताए । आफुले चलाएको अभियानलाई साथ दिने सबैलाई उनले धन्यवाद व्यक्त गरे । ‘ विभिन्न संघ/संस्था एवम् साथीभाइको सहयोगमा रोहनले नयाँ जीवन पाएका छन् । अभियानलाई साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु । ’ सुवेदीले भने ।

आफ्नो उपचारको लागि खटेका सुवेदीलाई रोहनले धन्यवाद व्यक्त गरे । जटिल रोगको उपचार पाउँदा नयाँ जीवन मिलेको अनुभव भएको उनले बताए । ‘ उपचार पाउँछु भन्ने सोचेको थिइँन, सबैबाट सहयोग प्राप्त हुँदा नयाँ जीवन पाएको छु । सबै सहयोगी हातहरुलाई धन्यवाद ’ रोहनले भने ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*