कोभिड–१९ः खोकी र ज्वरोभन्दा गन्ध र स्वाद गुमाउनु स्पष्ट लक्षण हुनसक्छ

काठमाडौं । अनुसन्धानहरूले सुझाए अनुसार कोभिड-१९ को लक्षण खोकी वा ज्वरोभन्दा गन्ध थाहा नपाउनु भरपर्दो सङ्केत हुनसक्छ ।
युनिभर्सिटी कलेज लण्डनले ५९० जना मानिसमा गरेको अध्ययन अनुसार यो वर्षको सुरुमा स्वाद र गन्ध गुमाएका ८० प्रतिशतमा कोरोनाभाइरसको एन्टिबडिहरू भेटिएको थियो ।
एन्टिबडिहरू भएका ती व्यक्तिमध्ये ४० प्रतिशतमा कुनै लक्षण थिएन ।
यद्यपि, सामान्य लक्षण भएका मानिसमा मात्रै त्यस्तो अनुसन्धान गरिएको थियो ।
गन्ध र स्वाद हराउनु कोरोनाभाइरस लागेको हुनसक्छ भन्ने प्रमाण एप्रिलबाट सुरु हुन थालेको हो र मे महिनाको मध्यबाट कोरोनाभाइरसको लक्षणको सूचीमा आधिकारिक रूपमा यी लक्षणलाई राखिएको थियो ।
अहिलेको निर्देशिका अनुसार जसले गन्ध र स्वाद गुमाएको अनुभव गर्छ उसले कोरोनाभाइरसको परीक्षण गर्नुपर्छ र सेल्फ आइसोलेशनमा अलग्गै बस्नुपर्छ ।
तर युनिभर्सिटी कलेज लण्डनकी अग्रणी लेखक/अध्ययनकर्ता प्राध्यापक रेचल ब्याटरह्यामले मुख्य लक्षणका रूपमा अझै पनि धेरै मानिसहरूले खोकी र ज्वरोलाई नै लिने गरेको बताइन् ।
पाँचमध्ये चारजनामा एन्टिबडि
उनले एप्रिल महिनाको २३ तारिखदेखि १४ मे सम्म विगत चार सातादेखि स्वाद र गन्ध गुमाएका मानिसहरूलाई लन्डनमा एसएमएसमार्फत् आफ्नो अनुसन्धानमा सरिक गराइन् ।
यी सबै मानिसमा एन्टिबडिको परीक्षण गरियो र पाँचमध्ये चारजनामा एन्टिबडि देखियो जसले उनीहरूमा पहिला कोभिड-१९ पोजिटिभ थियो भन्ने देखाउँछ ।
त्यस्तो अध्ययनमा सहभागी व्यक्तिहरू सबैमा सामान्य लक्षण भएको र त्यो पनि गन्ध र स्वाद गुमाएका हुनुपर्ने नियम राखिएको थियो ताकि उनीहरू सबैले कोभिडका बिरामीको प्रतिनिधित्व नगरुन् ।
तर यो अध्ययनले मानिसहरूलाई गन्ध वा स्वादमा आएको परिवर्तन हेर्न र त्यस्तो लागे आफूलाई अलग्गै राख्न महत्त्वपूर्ण छ भन्ने कुरालाई प्राथमिकता दिएको प्राध्यापक ब्याटरह्यामले बताइन् ।
उनका अनुसार दैनिक प्रयोग हुने सामानहरू जस्तै अत्तर, दन्तमन्जन, कफीजस्ता कुराको गन्ध नपाएको महसुस गरे आफूलाई अलग्गै राख्नुपर्छ ।
सबै कोरोनाभाइरसका बिरामीले गन्ध नपाएको महसुस गर्नैपर्छ भन्ने त छैन तर यदि गुमेको छ भने कोरोनाभाइरस भएको हुनसक्ने सम्भावना धेरै रहेको अनुसन्धानहरूले बताएका छन् ।
सम्भावित खतरा
प्राध्यापक ब्याटरह्यामले व्याख्या गरिन्, मानिसले हेर्नुपर्ने भनेको चाहिँ रुघा नलागिकनै वा नाक बन्द नभइ गन्ध आउन छोडेको छ/छैन भन्ने हो ।
कोभिड-१९ हुँदा भाइरसले नाको पछाडिपट्टी घाँटी र जिब्रोमा रहेका कोषिकाहरूलाई आक्रमण गर्ने भएकोले गन्ध नपाइने ठानिन्छ ।
किङ्ग्स कलेज लन्डनका अनुसन्धानकर्ताहरू, जसले कोभिडका लक्षणको अध्ययन गर्ने एप चलाउँछन्, उनीहरूले यसअघि कोरोनाभाइरस भइ निको भएका ६० प्रतिशत मानिसले स्वाद र गन्ध गुमाएको अनुमान गरेका थिए1` ।
यसलाई सामन्य लक्षण मानिए पनि र अस्पतालमै भर्ना हुनुपर्ने अवस्था नभए पनि प्राध्यापक ब्याटरह्यामले गन्ध थाहा पाउने शक्ति गुमाउने सम्भावित खतरा रहेको बताइन् ।
त्यसमा धुवाँको गन्ध पत्ता लगाउन नसकिने, ग्यास लीक भएको थाहा पाउन नसकिने कुराहरू पनि पर्छन् ।
लामो समयसम्म बिरामी भए त्यसले मानिसको जीवनमा महत्त्वपूर्ण रुपमा असर गर्नसक्छ ।
मानिसका अनुभव
हजारौँ मानिसले अनलाइनमा आफूले धुवाँको गन्ध थाहा पाउन छोडेको भन्दै चिन्तित अनुभवहरू सुनाएका छन् ।
केहीले आफूहरूले निरन्तर रूपमा बासी “फोहोर” को गन्ध अनुभव गरेको वा धातुको जस्तो स्वाद अनुभव गरेको बताएका छन् ।
अन्यले चाहिँ भाइरस निको भइसकेको महिनौँसम्म पनि राम्ररी खानेकुराको स्वाद लिन नसकेको बताएका छन् ।
प्राध्यापक ब्याटरह्यामका अनुसार गन्धमात्रै गुमाउने र अन्य लक्षण नहुने मानिसको समूह अन्य मानिसका लागि “सबैभन्दा खतरनाक” हुन्छन् किनभने उनीहरू सामान्य महसुस गर्छन् र सामान्य दैनिकीमा हुन्छन् ।
उनका अनुसार स्वाद र गन्धको कुरा सँगसँगै हुने भए पनि कोरोनाभाइरसबाट निको भएकाहरूमा गन्ध हराउनु वा कम हुनु स्वाद हराउनुभन्दा बढी सामान्य हो ।
उनको अध्ययन त्यतिबेला गरिएको थियो जतिबेला गन्ध र स्वाद नहुनुलाई लक्षणका रुपमा पहिचान गरिएको थिएन ।
स्रोतः बिबिसी