हेटौंडाको बाल गृहमा बालकको मृत्यु
मकवानपुर । हेटौंडाको बाल सुधार गृहमा बस्दै आएका एक बालकको मृत्यु भएको छ । हेटौंडा–११ थानाभर्याङमा रहेको बालगृहमा बस्दै आएका बालकको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा संखुवासभा जिल्ला खाँदबारी–११ घर भएका १८ वर्षीय पुन्टे भनिने ईन्द्रजित राई रहेका छन् ।
ज्यान मार्ने उद्योगमा पक्राउ परेका ती बालक डेढ वर्षदेखि सो बाल गृहमा बस्दै आएका थिए । मृत्यु भएका बालकको शवलाई परिवारको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी देवचन्द्र गर्तौलाले बताए ।
मृत्यु भएका ती बालकमा केही दिनदेखि शरीर सुन्निने, खाना खान मन नलाग्ने, बान्ता गर्ने जस्ता लक्षणहरु देखिएको बालगृहले जनाएको छ । उनीहरुमध्ये ७/८ जना बालकहरुमा सोहि प्रकृतिका लक्षण देखिएको छ भने ४ जना बालकको अवस्था गम्भीर रहेको बाल सुधार गृहका रामप्रकाश सुवेदीले बताए ।
बालगृहमा बस्दै आएका बालकहरुमा सो प्रकृतिका लक्षण देखिएपछि उनीहरुलाई भक्तपुरको बाल सुधार गृहमा रिफर गर्ने तयारी भइरहेको बताइएको छ ।
यस अघि पनि सो बाल गृहमा बस्दै आएका एक बालकमा नि सो प्रकृतिकै लक्षण देखिएको र उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको गर्तौलाले बताए ।
सो सुधार गृहमा हाल ३४ जना बालक बस्दै आएका छन् । विभिन्न अभियोग लागेका बालकहरुलाई सुधारका लागि अदालतले सो बाल गृहमा पठाउने गर्दछ ।










