विकेशलालको पहलमा विकले पाए नयाँ घर

मकवानपुृर । तरुण नेता विकेशलाल श्रेष्ठको पहलमा हेटौंडा–१ भैरवडाँडाका पाण्डु विकले नयाँ घर पाएका छन् ।
जिर्ण घरमा कष्टपूर्ण ढंगले बस्दै आएका विकको घर निर्माणका लागि श्रेष्ठले पहल गरेका थिए । शौचालयसहित २ कोेठे पक्कि घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले विकलाई घर हस्तान्तरण गरेका हुन् ।
घर हस्तान्तरण गर्दै नेता बानियाँले विपन्न र समस्यामा परेकाहरुलाई सहयोग गरेकोमा श्रेष्ठसहित दाताहरुलाई धन्यवाद दिंदै यस्ता सामाजिक कामको निरन्तरताका लागि आग्रह गरे ।
उनले राज्यले गर्नुपर्ने काम गरेको भन्दै दाताहरुको प्रशंसा गरे ।
घर निर्माण भएपछि आफ्नो ३ जनाको परिवारको दैनिकी सहज भएको भन्दै विकले खुशी व्यक्त गरे । ३ महिना अघि निर्माण थालिएको घरका लागि २ लाख ४४ हजार एक सय ३६ रुपैंया खर्च भएको श्रेष्ठले बताए ।
कार्यक्रममा घर निर्माणको पहल गरेका तरुण नेता श्रेष्ठले दाताहरुको सहयोगका कारण आफ्नो पहल सार्थक भएको भन्दै दाताहरुप्रति आभार व्यक्त गरे । कार्यक्रममा हेटौंडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने,नेपाली कांग्रेस हेटौँडा नजरसभापति आनन्दराम पराजुली, हरिकृष्ण महर्जन, तरुण नेता राजेश भेटवाल, दिनेश लामा, सुमन लामा, सुमन अर्याल लगायतकाको उपस्थिति रहेको थियो।