मानव बेचविखन विरुद्धको अभियानमा मिडियाको भुमिका महत्वपुर्ण

मकवानपुर । नारी सिप सृजना केन्द्रले हेटौंडामा मानव बेचविखन विरुद्धको अभियानका लागि संचारकर्मीहरुको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मानव बेचविखन विरुद्ध अभियान जारी राख्न सञ्चारकर्मीहरुले महत्वपुर्ण भुमिका खेल्ने भएकोले संचार गृह र संचारकर्मीहरुसंगको समन्वय आवश्यक रहेकोले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि बनेको पाँचौ योजना २०७५/०७६ माथि छलफल तथा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि बनेको पाँचौ योजनामा समयसापेक्ष परिमार्जन आवश्यक रहेको बताइएको छ । पाँचौ योजनाको उद्देश्य, कार्यनीति तथा नियन्त्रणको व्यवस्था गरिएको भए पनि पीडितको न्यायमा पहुँच र समाजमा आत्मासम्मानका साथ स्थापित हुनसक्ने प्रकारको व्यवस्था ऐनमा नै हुनुपर्ने जनाइएको छ ।
मानव बेचबिखन रोकथामका लागि जोखिम समुदायलाई जिविकोपार्जन र स्वआर्जनका कार्यक्रम ल्याउने, मानव बेचबिखन तथा ओसारपसारको जोखिम कम गर्न सरोकारवालाको सक्रियता बढाउने, सुरक्षित आप्रवासन बारे शिक्षा तथा सचेतना कार्यक्रम गर्न सूचना केन्द्रको व्यवस्था गर्ने, महिला विकास तथा प्रवर्द्धनका कार्यक्रम सन्चालन गर्ने, संरक्षण र न्यायको लागि पहुँच बढाउने जस्ता कार्यनीति तथा नियन्त्रणको व्यवस्था गरिएता पनि संचार क्षेत्रको सहयोग र समन्वय बिना लक्ष्य हासिल गर्न नसकिने र आमसञ्चारको तर्फबाट दबाबकारी भूमिकाको आवश्यकता औलाइएको हो ।
सन् २०१९ मा लागू भएको यो कार्यक्रमबाट ४ हजारभन्दा बढीलाई सीपमूलक तालिम तथा वैदेशिक रोजगारबाट समस्यामा परेर फर्केका १ सय ५० जनालाई तालिम प्राप्त मनोसामाजिक परामर्शकर्ताबाट परामर्श प्रदान गरिएको नारी सपि सृजना केन्द्र हेटौंडाले जनाएको छ ।
मकवानपुर जिल्लामा रहेर विभिन्न सञ्चार माध्यममा सक्रिय पत्रकारहरुसँग भएको छलफल कार्यक्रममा अधिवक्ता मनप्रसाद भट्टराइले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।