जीर्ण बन्यो विद्यालय

हेटौडा न्युज
२५ आश्विन २०७७, आईतवार ११:३४
;

मकवानपुर । झाडीले घेरिएको टहरा । झट्ट हेर्दा कुनै बेवारिसे भवन जस्तै देखिन्छ । तर उक्त भवनमा करिब पाँच सय विद्यार्थीको भविष्य जोडिएको छ ।

६ महिना अघिसम्म विद्यार्थीले दैनिक ज्ञान आर्जन गर्ने विद्यालयल भवन वर्षात्को पानी चुहिएर कमजोर बनेको छ । वर्षा्तसँगै उम्रिएको झाडी बढेर डेस्क बेन्च छोपिएको यो भवन मकवानपुरको राक्सिराङ गाउँपालिका ४ खैराङस्थित कालिका माविको हो । विद्यालयको स्थिति जस्तो देखिन्छ, विद्यार्थीको पढाइ पनि उस्तै छ । कोरोना संक्रमणपछि बन्द भएको विद्यालयमा शिक्षक फर्केका छैनन् ।

सहरका अधिकांश विद्यालयमा प्रविधिमैत्री पढाइले विद्यार्थीलाई पढाइमा केन्द्रित गरेको छ । चेपाङ बाहुल्य रहेको यस क्षेत्रमा कतिपय विद्यार्थीको जीवन पढाइभन्दा धेरै पर पुगिसकेको छ । तीमध्येका एक हुन्, राक्सिराङको काँकडास्थित धिराङ निमाविका विद्यार्थी शिवलाल चेपाङ । कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा पढ्ने सपना देखेका उनी वैशाखमा विद्यालय नखुलेपछि गाउँका दाजुसँगै कामको लागि तनहुँ गएका छन् ।

‘यहाँ कक्षा ८ सम्म मात्र पढाइ हुन्छ, विद्यालय नखुलेपछि ८ पास गरेका १३ जनामध्ये २ जनाले बिवाह गरिसके, ७र८ जना काम गर्न गाउँ बाहिर गएका छन्’, स्थानीयबासीसमेत रहेका बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले भने, ‘हाम्रो त गाउँमा अब कसरी विद्यार्थी जम्मा गरेर पढाउने भन्ने चिन्तामा छौं ।’ उनका अनुसार राक्सिराङ गाउँपालिका भित्रका काम गर्न सक्ने करिब २० प्रतिशत विद्यार्थी मजदुरी गर्न तनहुँ, धादिङ, पालुङ, चिवतन लगाएत भिनिन्न ठाउँमा गएका छन । ‘गाउँमै हुनेहरूको पनि पढ्ने बानी हराइसक्यो, अब गाउँ गाउँमा पढाउने अभियान चलाएपनि प्रभावकारी भएन’, चेपाङले भने ।

राक्सिराङ गाउँपालिका ९ स्थित कालिका माविका प्रधानाध्यापक दिपेन्द्र झा आफ्नो सरुवा पत्र लिएर गाउँपालिका कार्यालयमा भेटिए । उक्त विद्यालयमा एक दशक अध्यापन गरेका उनी दुई वर्षअघि सरुवा भएर जनकपुर पुगेका थिए । चार सय ५० जना विद्यार्थी पढ्ने कालिका माविमा गत चैत्रदेखि लागेको ताला खुलेको छैन । ‘म पनि सरुवा लिएर भर्खर आउँदै छु, विद्यालयको स्थिति के छ थाहा छैन’, झाले भने, ‘छठपछि पढाइ सुरु गर्ने योजना छं ।’

गाउँपालिकाले वैकल्पिक शिक्षा निर्देशिका अनुसार पाठ्यपुस्तक बनाएर कक्षा १, २ र ३ का विद्यार्थीलाई वितरणसमेत गरेको थियो । तर नियमित शिक्षकको निगरानी नहुँदा उक्त पुस्तक पनि प्रभावकारी बन्न नसकेको अभिभावकको गुनासो छ ।

‘यहाँ रेडियोबाट कक्षा सञ्चालन गर्दा पनि सबै ठाउँमा सुनिने अवस्था छैन । साना कक्षाका विद्यार्थीका लागि किताव वितरण गरिएको छ’, गाउँ शिक्षा समितिका सचिव तथा विद्यालय निरीक्षक प्रदिप पराजुलीले भने, ‘विद्यालय व्यवस्थापन समितिले सबै स्वास्थ्य सतर्कता अपनाएर विद्यालय खोल्ने निर्णय गरे विद्यालय सञ्चालनको अनुमति दिने निर्णय गरेका छौं ।’ उनका अनुसार छठ लगत्तै पालिका अन्तर्गतका सबै विद्यालय खोल्ने गाउँपालिकाको तयारी छ ।

अन्नपुर्ण पोष्मा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*