छठ लगत्तै कक्षा १२ को परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले छठ लगत्तै कक्षा १२ को परीक्षा हुने जनाएको छ। मन्त्रिपरिषदबाट परीक्षा लिने बाटो खुलाइए पछि छठलगत्तै परीक्षा संचालन गरिने राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन् ।
बुधवार सरकारका प्रवक्ता, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै तीनै तहले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षा सञ्चालनको स्वीकृति दिएको जानकारी दिएका थिए।
शिक्षा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले आयोग, विश्वविद्यालय, बोर्ड, प्रतिठान र विद्यालयलाई सबै तहको परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो।
परीक्षा तालिका र मोडालिटी एक/दुई दिनमै सार्वजनिक गर्ने तयारी रहेको अध्यक्ष पौडेलले जनाएका छन् ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा मोडालिटीबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई विकल्प पेश गरेको थियो जसमा पहिलो विकल्पमा परम्परागत रुपमा नै चरणबद्ध परीक्षा लिइने उल्लेख गरिएको छ ।
दोस्रो विकल्पमा एक सय पूर्णांकको लिखित परीक्षा नलिइ केही प्रतिशत लिखित र केही प्रयोगात्मक लिने सुझाव पनि पेश गरेको थियो ।