बलात्कारको विरोध गर्दै हेटौंडामा प्रदर्शन
मकवानपुर । हेटौंडामा बलात्कारका घटना वृद्धि भएको विरोधमा प्रदर्शन गरिएको छ । हेटौंडाका युवा युवतीहरुले हेटौंडाको बुद्ध चोकमा बलात्कारजन्य महिला हिंसाको विरोधमा प्रर्दशन गरेका हुन् ।
हेटौंडाका विभिन्न स्थानका युवायुवतीहरु हेटौंडाको हुप्रचौरमा जम्मा भएका युवा युवतीहरुले र्यालीसहित बुद्धचोकमा पुगेर करिब एक घण्टा प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा ‘अर्को पालो मेरो पो हो की ?’ ‘मलाई बाच्न मन छ मलाई बचाउ’ ‘कस्तो कानुन कस्तो सरकार ?’ ‘कपडा छोटो की नजर खोटो’ सरकार देखाउ इच्छा खोई त महिलाको सुरक्षा ? ‘हत्या हिंसा बलात्कार समाज बाटै बहिस्कार’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रर्दशन गरिएको थियो ।

यसैगरी प्रदर्शनमा दर्जन बढी युवतीहरुले सडकमै आँखामा कालोपट्टी, मुखमा कालो मास्क, हातमा कालो पट्टी बाँधेर र कालो कपडा लगाएर विरोधपुर्ण नृत्य प्रदर्शन समेत गरेका थिए । प्रदर्शनमा करिब १ सय ५० बढी युवायुवतीहरु सहभागिता रहेको थियो ।













