स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते
उदयपुर । उदयपुरमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । उदयपुरको सिद्धिचरण राजमार्ग (कटारी–घुर्मी सडक)अन्तर्गत पर्ने कटारी नगरपालिका–१४ भदौरे भिरबाट स्कर्पियो खस्दा दुर्घटना भएको हो ।
शनिबार राति स्कर्पियो भिरबाट खस्दा स्कर्पियोमा सवार पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते छन् ।
भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जाने क्रममा बा २० प ७१७१ नम्बरको स्करपियो दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ ।
मृत्यु हुने अन्यमा अन्दाजी ३०–३५ वर्षका दुई जना पुरुष र एक महिला छन् ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रूपन्देहीको त्रिगम्बा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रहरीका अनुसार उनीहरू सबै जना भारतको लद्दाखबाट दसैं मान्न गाडी रिजर्भ गरेर घर फर्कंदै थिए ।
‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्कर्पियो सडकबाट करिब एक किलोमिटर तल खसेको प्रहरीले जनाएको छ ।










