सियोनाको उपचारमा क्लासिक टेकको १० लाख सहयोग
भरतपुर । क्लासिक टेकले स्पाइनल मस्कुलर एट्रोफी टाइप १ बाट पीडित सियोना श्रेष्ठको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । निकै दुर्लभ रोग मानिने स्पाइनल मस्कुलर एट्रोफीबाट ग्रसित १३ महिनाकी सियोनालाई सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको क्लासिक टेकले बताएको छ ।
कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सीधै अनलाइन प्रणालीमार्फत रकम पठाएको हो । २० करोड खर्च लाग्ने उपचारमा क्लासिक टेकले सानो भए पनि सहयोग गरेको कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनय अधिकारीले बताए । ‘सानो सहयोगले सियोनाको उपचारमा सहयोग पुग्न सक्छ, त्यसैले हामिले सामाजिक उत्तरदायित्व बहन गरेर सहयोग प्रदान गरेको हौँ’, उनले भने ।
सियोनाको उपचारका लागि क्लासिक टेकका कर्मचारीहरुले समेत सहयोग प्रदान गरेका हुन् । सियोनाको उपचारको लागि २० करोड रकम खर्च लाग्ने उनको परिवारले बताएको छ । उनलाई सहयोग गर्न चाहनेले गोफण्डमी डटकम र इसेवामार्फत पनि सहयोग गर्न सक्छन् । उनको बैंक अफ काठमाडौँ परासी शाखामा रहेको खाता नम्बर २०६५००००००३१५२४ वा इसेवा आइडी ९८४७२०६४६६ र ९८१६४५७८०९ मा सहयोग पठाउन सकिन्छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत क्लासिक टेकले यसअघि पनि ब्लड क्यान्सरबाट पीडित एक बालकको उपचार खर्च व्यहोरेको थियो । नेपालको अग्रणी र ठूलो इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभर आफ्नो इन्टरनेट सेवालाई तीव्र्र गतिमा विस्तार गर्दै आएको छ ।










