हेटौंडाको ठूलोथलीमा भ्यूटावर निर्माण कार्य शुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले भ्यूटावर निर्माण कार्य सुरु गरेको छ । उपमहानगरपालिकाको तीन करोड ७५ लाखको लागतमा हेटौँडा वडा नम्बर १३ ठूलोथलीमा उक्त भ्यूटावर निर्माण शुरु भएको हो ।
बहुवर्षीय कार्यक्रम योजनाअन्तर्गत शुरु भएको पाँचतले टावरको निर्माणमा उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा रु २४ लाख बजेट विनियोजन गरेको कार्यालयले जनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पर्यटकीय क्षेत्रको सम्भावना रहेकाले त्यहाँ भ्यूटावर निर्माण गर्न लागिएको बताउँदै त्यस क्षेत्रमा बालोद्यान, वनभोजस्थलसहितको उद्यँन निर्माण गर्न लागिएको जानकारी दिए ।
उद्यान विभिन्न जनावरको मूर्तिसमेत राखिने बताइएको छ । यसैबीच हेटौंडा–५ क्याम्पाडाँडा चौरलाई व्यवस्थित खेल मैदान बनाउन शुरु भएको छ ।
उपमहानगरपालिकाले विभिन्न वडाका खेल मैदानलाई व्यवस्थित बनाउने कार्यक्रमअन्तर्गत उक्त चौरलाई खेलकूद मैदानका रुपमा व्यवस्थित गर्न लागेको बताइएको छ ।
यसअघि खेलकूद कार्यक्रम भए पनि चौर व्यवस्थित नहुँदा समस्या आएको थियो ।