गृहको निर्देशनको विरुद्ध नारायणी संघको राजनीतिक दललाई पत्र

हेटौडा न्युज
२० कार्तिक २०७७, बिहीबार १६:४६
;

मकवानपुर । साबिककोे नारायणी यातायात ब्यावसायी संघले दुई ठुला राजनैतिक दलहरुलाई ज्ञापन पत्र बुझाएको छ । ऐन विपरीत गृह मन्त्रालयले दिएको निर्देशन विरुद्ध साबिकको नारायणी याताया व्यावसायी संघ (पुरानो नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.)ले नेकपा र नेपाली काँग्रेसलाई आज ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघमा आवद्ध सदस्यहरुको टोलीले मकवानपुरका ती राजनैतिक दलका अध्यक्ष मार्फत केन्द्रीय कार्यालयमा पत्र बुझाएका हुन् ।
२०३६ सालमा स्थापना भएको साविकको नारायणी यातायात व्यवसायी संघ नेपाल सरकारको पछिल्लो निर्णय अनुसार नाफारहित कम्पनी ऐन अनुसार २०७४ मा दर्ता भई सञ्चालनमा रहेको छ ।

सरकारले सबै यातायात संस्थाहरुलाई कम्पनीमा जानु पर्ने नियम बनाएसँगै संघ हुँदाको बखतको सबै चलअचल सम्पत्तिलाई यथास्थितिमा राख्ने निर्णय गरेको थियो । सो सम्पत्तिको विषयमा सर्वोच्च अदालतमा यो विषय विचाराधीन नै रहेको छ ।

तर तत्कालीन अवस्थामा संघमा सदस्य रहेको र हाल सदस्यता कायम नरहेको व्यक्तिलाई संघको चलअचल सम्पत्ति दामासाही वितरणको प्रकृया अगाडी बढाउन गृह मन्त्रालय र यातायात मन्त्रालयले निर्देशन दिएको भन्दै संघले यो नियम विपरीत भएको र सदस्य नै नरहेको व्यक्तिलाई दिन नमिल्ने जीकिर गर्दै ध्यानाकर्षण गराएको हो ।

राजनैतिक पहुँचका आधारमा संघलाई दिएको निर्देशन कानूनतः समेत नमिल्ने संघका महासचिव सरोजकुमार खनालले बताएका छन् । खनालका अनुसार संस्था सबैको साझा रहेको र सार्वजनिक सम्पत्ति व्यक्ति–व्यक्तिलाई बाँड्न नसकिने उनको भनाई रहेको छ ।

यस कम्पनीमा हाल साना–ठूला गरी करीब ८ हजार सवारी साधनहरु सदस्य रहेका छन् । कम्पनीमा आवद्ध रहेका सवारीहरुको दुर्घटना विमा, यातायात मजदूर विमा, दुर्घटनाका घाईतेहरुको उपचार लगायतमा सहजीकरण र सहयोग रकम समेत उपलब्ध गराउँदै आएको संघका अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*