राक्सिराङमा स्थानिय पाठ्यक्रम लागु गर्ने तयारी
मकवानपुर । मकवानपुरमा पहिलो पटक राक्सिराङ गाउँपालिकाले स्थानिय पाठ्यक्रम लागु गर्ने तयारी थालेको छ । मकवानपुरको विकट गाउँपालिका राक्सिराङ गाउँपालिकाकले जिल्लामा नै पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने तयारी गरेको हो ।
आगामी शैक्षिक सत्रदेखि लागु हुने गरि नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख भए बमोजिम आफैंले पाठ्यक्रम निर्माणको तयारी गरेको हो ।
निर्माण गरिएको पाठ्यक्रम आगामी शैक्ष्किक सत्रमा कक्षा १ देखि ८ सम्म लागु गर्ने तयारी रहेको जनाइएको छ । आगामी वर्षदेखि राक्सिराङमा ५३ वटा सामुदायिक विद्यालयका करिब ५ हजार विद्यार्थीले स्थानीय तहमा बनेको स्थानीय पाठ्यक्रमको अध्ययन गर्नेछन् ।
गाउँपालिकाका अनुसार कक्षा १ देखि ५ सम्मको ऐक्षिक अंग्रेजी र कक्षा ६ देखि ८ सम्मकाले ऐक्षिक कम्प्युटर विषयको साटो स्थानिय पाठ्क्रम अध्ययन गर्नु पर्ने छ ।
स्थानीय पाठ्यक्रमको पूर्णाङ्क एक सयको हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४) मा मातृ भाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ ।
त्यस्तै दफा ११ (ज) १८ मा स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरणको कुरा उल्लेख गरिएको छ ।
सोही ऐनलाई टेकेर गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी लागू गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
अबको केही दिनमा नै स्थानीय पाठ्यक्रम गाउँ कार्यपालिकाले स्वीकृत गरेपछि सो पाठ्यक्रम कार्यान्वयनमा जाने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरी काम थालेको थियो ।
स्थानीय पाठ्यक्रममा गाउँका पर्यटकीय स्थल, गाउँपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावनालगायतको बारेका ज्ञान समेटिएको छ ।
गाउँपालिकामा चेपाङ जातिको बाहुल्यता रहेकोमा चेपाङ समुदायको बारेमा करिब ३५ प्रतिशतभन्दा बढी ज्ञानवद्र्धक सामाग्री छनौट गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।










