कमसल निर्माण रोक्न मनहरीमा पुल सरोकार समिति गठन

मकवानपुर । मनहरी गाउँपालिका क्षेत्रका विभिन्न नदी र खोलाहरुमा निर्माण हुन लागेको ५ वटा पक्की पुलको गुणस्तरीयताबारे निगरानी राख्न स्थानीयहरुले पुल निर्माण सरोकार समिति गठन गरेका छन् । पालिकाभित्र ठेक्का प्रक्रिया मार्फत निर्माण हुन गईरहेको ५ वटा पक्की पुलको निर्माणमा पारदर्शिता अपनाउन तथा गुणस्तरीयताको लागि दबाब दिन स्थानीय युवा दीपेन्द्र अधिकारीको संयोजकत्वमा पुल सरोकार समिति गठन गरिएको हो ।
समितिमा मनहरी गाउँपालिका वडा नं १ देखि ५ नं सम्मका नागरिकहरु समितिका सदस्यका रुपमा रहेको संयोजक अधिकारीले जानकारी दिएका छन् । समितिमा भीमसेन अधिकारी, बिमल स्याङ्तान, चन्द्रबहादुर राई, सरोज अर्याल, सुरेन्द्र घलान, होतप्रसाद अधिकारी, रवि उप्रेती, रामहरि बिष्ट, श्रीकृष्ण ढकाल, सुरेन्द्रकुमार तितुङ, नानीबाबु थापा गोदार, कृष्णप्रसाद पौडेल, बालमुकुन्द ढकाल र राजन पाण्डे रहेका छन् ।
समितिले ठेकेदार कम्पनीले गर्ने कार्यको निगरानी गर्दै गुणस्तरीय निर्माण गर्नका लागि निगरानी गर्ने जनाइएको छ । पछिल्लो समय देशैभरि कतिपय विकासका कामहरु कमसल हुने र आवाज उठाउने स्थानीयहरुलाई प्रलोभनमा पारेर काम सम्पन्न भएको देखाउने परिपाटीलाई न्युनिकरण गर्नुका साथै त्यस्ता गतिविधिहरुलाई रोक्न समितिको भूमिका उल्लेख्यीय हुने स्थानीय सञ्चारकर्मी शिवकुमार काशीले बताएका छन् ।
मनहरी गाउँपालिकाले ट्वांग्रा खोला, मसिने खोला, हाँडीखोला, च्यापल खोला लगायतका स्थानहरुमा पक्की पुलको ठेक्का सदर गरिसकेको छ । आगामी २ बर्षभित्र सबै पक्की पुलको निर्माण सम्पन्नहुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिएका छन् ।