बागमती प्रदेशमा सामान्य शैलीमा छठपर्व

हेटौडा न्युज
४ मंसिर २०७७, बिहीबार १५:२३
;

मकवानपुर । बागमती प्रदेशअन्तर्गत पर्ने विभिन्न जिल्लामा छठपर्व सामान्य शैलीमा मनाउने तयारी गरिएको छ ।

अघिल्लो वर्षहरुजस्तै भीडभाडभन्दा पनि कोभिड–१९ को असहज परिस्थितिका कारण आ–आफ्नो घरघरमा भए पनि यस वर्षको छठपर्व मनाउने क्रम जारी छ ।

यो प्रदेशअन्तर्गत पर्ने सिन्धुली, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँ जिल्लामा छठ पर्व हर्षोल्लासका साथ मनाउने गरिए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण भीडभाड र तामझामका साथ नभई सामान्य शैलीमा छठपर्व मनाउने तयारी गरिएको हो । विशेषगरी नेपालका विभिन्न स्थानसँगै नेपालको पूर्वी तराईका जिल्लामा विशेष उल्लासका साथ यो पर्व मनाइने गरिन्छ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा यसपटक विगतजस्तो भव्य नभए पनि सामान्य शैलीमा श्रद्धापूर्वक छठ मनाउने तयारी गरिएको छ । प्रशासनले विगतमा जस्तो राप्तीघाटमा पण्डाल बनाएर सामूहिकरूपमा छठ नमनाउन अनुरोध गरेका कारण विभिन्न टोलमा स्थानीय पोखरी तथा मठमन्दिरमा छठघाट निर्माण गरेर समान्य शैलीमा सामाजिक दूरीसहित छठ मनाउने तयारी गरिएको छठ पूजा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष अजय बानियाँले जानकारी दिनुभयो ।

यस पर्व चार दिनसम्म मनाइने गरिन्छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरवा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्वको समापन हुने गर्दछ ।

जीवनदायी शक्ति सूर्य देवता र छठीमाताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । सूर्यलाई आरोग्यका देवताका साथै निर्धनताका निवारक पनि मानिन्छ । पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठपर्व पछिल्लो समय राजधानीसहित पहाडी क्षेत्र र तराईका विभिन्न जिल्लामा पनि लोकप्रिय हुँदै गएको छ ।

देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रूपले तराई ९मधेश० क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।

परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा विसर्जन गरिन्छ । यस पर्वमा मुस्लिम समुदायका व्यक्ति पनि सहभागी हुन्छन् र पर्व विधिवत रुपमा मनाउँछन् । पवित्र मनले छठपर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

छठको पहिलो दिन (कात्तिक शुक्ल चतुर्दशी)

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि छठ पर्व आरम्भ हुन्छ । तिहारलगत्तै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुआत मानिने यसमा बर्तालु बिहान सबेरै उठेर हातखुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाइधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा बर्तालुले प्रण गर्दछन्, म अब जथाभावी खाँदिन र तनमनले प्रभुको शरणमा बस्नेछु ।

छठको दोस्रो दिन (कात्तिक शुक्ल पञ्चमी)–खर्ना

विधिवतरूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख बर्तालुले सख्खरको खीर लौकाको तरकारीजस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुका कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास हो ।

छठको तेस्रो दिन (कार्तिक शुक्ल षष्ठी)

छठको तेस्रो दिन अर्थात् छठपर्व । यस दिनमा बर्तालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । प्रातःकालीन अघ्र्यका लागि केही बर्तालु रातभर पानीमा बसेर सूर्य नउदाउञ्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।

छठको चौथो दिन (कार्तिक शुक्ल सप्तमी)

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले अञ्जुलीमा पानी भरी जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफूल र मिठाइजस्ता प्रसाद अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत खोल्दछन् ।

इतिहास

सृष्टिको शुरूआतदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*