हेटौंडामा म्याद सकिएको ३ टन चामल बरामद, व्यापारीलाई साँढे २ लाख जरिवाना

मकवानपुर । हेटौंडा सिमा चौकमा रहेको विवेक किराना पसलबाट ३ टन म्याद सकिएको चामल बरामद भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपमहानगरपालिका, उपभोक्ताकर्मीको संयुक्त अनुगमन टोलीले ३० केजीको १ सय बोरा (३ हजार किलोग्राम) म्याद सकिएको चामल बरामद गरेको हो ।
हेटौंडा–१० टिसियन रोडमा रहेको सो किराना पसलमा बेच्नका लागि भण्डार गरेर राखिएको अवस्थामा उपभोग गर्न अयोग्य चामल बरामद गरेको हो । मंगलबार कार्यालयको अगुवाइमा, उपभोक्ता हित संरक्षणम मञ्चका प्रतिनिधि, हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको अनुगमन टोलीले बरामद चामललाई उपमहानगरपालिकाको टिपरमा राखेर नष्ट गर्ने तयारी गरेको छ ।
म्याद सकिएको चामल बरामद भएको सो किराना पसलका सञ्चालक योगेन्द्रप्रसाद केशरीलाई तत्काल २ लाख ५० हजार समेत जरिवाना पनि गरेको छ । भारतको रिपुराज ब्राण्डको प्रिमियम ब्रोकन राईसको बोरामा उल्लेख गरिएको उपभोग्य मिति मेटाएर बिक्री गरिरहेको बताईएको छ ।
अनुगमन टोलीका अनुसार चामलको उपभोग्य मिति करीब १ बर्ष अघि नै सकिईसकेको थियो ।