तीन वटा मेनपावर कम्पनीमा विभाग छापा

वैदेशिक रोजगार विभागले तीन वटा मेनपावर कम्पनीमा छापा मारेको छ। विभागले दुई दिनमा ३ मेनपावर कम्पनीमा छापा मारेको हो ।
विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर र गौरीघाटको डिडी ह्युमन रिसोर्स प्रा.लि.मा छापा मारेको हो।
होप इन्टनेसनलमा मंगलबार, एसओएस र डिडी ह्युमन रिसोर्समा सोमबार छापा मारिएको हो ।
यी तिनै मेनपावर कम्पनीले डिमाण्ड नभइकन अनधिकृत रूपमा खाडी मुलुक कतारका लागि कामदार छनोट गरेको आरोप विभागको छ।
कतारको प्रहरी सेवामा जाने कामदारको अन्तर्वार्ता गरिरहेको अवस्थामा विभागको टोलीले मंगलबार दिउँसो १ बजे होप म्यानपावरमा छापा मारेको हो । पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिएको पाइएपछि छापा हानिएको हो ।
विभागका अनुसार होप इन्टरनेसनलमा एउटा कूटनीतिक नियोगको गाडी पनि फेला परेको छ। यसकारण सो मेनपावर कम्पनीको क्रियाकलापमा दूतावासको संलग्नता रहेको आशंका गरिएको छ।
होप इन्टरनेसनलमा छापा मार्ने क्रममा ४५–सिडी–००९ नम्बरको कूटनीतिक नियोगको गाडी फेला परेको थियो। यो गाडी कुनै दूतावासको भएकाले यी कार्यमा दूतावास संलग्न भयो कि भन्ने शंका विभागको छ।
यी मेनपावरले करिब २ हजारको संख्यामा नेपालीलाई अन्तर्वार्ता गरेको शंका विभागले गरेको छ भने यसबारे विस्तृत छानबिन भइरहेको बताएको छ ।
ती मेनपावरले कामदार छनोटमा प्रयोग गरेका कागजात विभागले नियन्त्रणमा लिएको छ।