नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ

हेटौडा न्युज
१० मंसिर २०७७, बुधबार १७:१६
;

काठमाडौं । प्रहरीले नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई पक्राउ गरेको छ । रामेछाप मन्थली नगरपालिका–८ घर भई काठमाडौं–४ चण्डोल बसोबास गर्दै आएका न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्धामा बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीले तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई ठगी मुद्दामा पक्राउ गरेको हो।

न्यौपानेविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पनि उजुरी छ । उनी विरुद्धको अर्को मुद्दा अदालतमा विचराधीन छ ।

उनलाई बुधबार चण्डोलस्थित निवासबाटै पक्राउ गरिएको हो ।

इन्जिनियरिङ कलेजमा ठगी गरेको आरोपमा कांग्रेसका पूर्वसांसद सूर्यबहादुर केसी, जावलाखेलका रामरत्न उपाध्याय, विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लबराज भट्टराई प्रतिवादी छन् । कांग्रेस सांसद केसीको भने निधन भइसकेको छ ।

कलेजमा उनीहरुविरुद्ध तथ्यगत बिगो ८ करोड २१ लाख ६ सय ५० रुपैयाँ छ । यस्तै लेखा परीक्षणबाट खुल्न आएको बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

न्यौपानेको नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बराबरको ठगी गरेको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*