मकवानपुरमा १५ हजार सिसि क्यामेरा, प्रशासन बेखबर

मकवानपुर । मकवानपुर जिल्ला भरि करीब १५ हजार वटा सिसि टिभी क्यामेरा स्थानीय प्रहरी प्रशासनलाई थाहै नदिई सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएकोछ । नेपाल सरकार गृह मन्त्रालयले सिसि टिभी क्यामेरा सञ्चालन निर्देशिका पनि जारी गरेको छ ।
निर्देशिका अनुसार क्यामेरा जडान गरेको १५ दिन भित्र सिसि क्यामेरा सञ्चालन गरेको मिति र स्थान, क्यामेराले प्रभावित पार्ने क्षेत्रको गुगल म्याप, क्यामेराको कम्पनी, क्षमता र रेकर्ड गरिएको डाटा सुरक्षित रहने समय, प्रशासनले चाहेको बेला सबै फुटेज उपलब्ध गराउने लिखित मञ्जुरीसहित स्थानीय प्रशासन वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य पेश गर्नु पर्ने हुन्छ । कोही कसैको व्यक्तिगत गोपनियता, सार्वजनिक सुरक्षा चुनौति लगायतलाई ध्यानमा राखेर सरकारले निर्देशिका जारी गरेको हो ।
तर मकवानपुरमा सञ्चालनमा रहेका १५ हजार क्यामेरा मध्ये मुश्किलले केही वित्तीय संस्था, बैंकहरुले मात्रै क्यामेराको विवरण स्थानीय प्रशासनमा बुझाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले बताएका छन् ।
निर्देशिकाको ४ को क र ख अनुसार प्रत्येक प्रहरी इकाईले आफ्नो इलाका क्षेत्रभित्र रहेका सबै सिसि क्यामेराको विवरण अनिवार्य अद्यावधिक गर्नुपर्ने र सो विवरण एकमुष्ठ जिल्ला प्रशासन कार्यालयलाई बुझाउनुपर्ने निर्देशन गरेको भएपनि मकवानपुर प्रहरीसँग त्यस्तो विवरण आजसम्म नरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताएका छन् ।
नियमानुसार भिआईपी, भिभिआईपीको निजी जीवनमा असर पार्ने, कोही कसैको व्यक्तिगत गोप्यतामा असर पार्ने, सुरक्षा चुनौतिलाई बढावा दिने गरी सिसि क्यामेरा जडान गर्न र त्यस्ता दृश्य सार्वजनिक गर्न निषेध गरिएकोछ ।
निर्देशनको पालना नगर्नेलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कार्वाही हुने उल्लेख गरिएको छ भने मकवानपुरमा ३० वटा भन्दा बढी सिसि टिभी क्यामेरा विक्री गर्ने पसल तथा डिलरहरु रहेका छन् ।
निर्देशिकाः