मकवानपुरका ५ स्थानीय तहमा अस्पतालको शिलान्यास भोलि

मकवानपुर । मकवानपुरको ५ स्थानिय तहमा भोलि असपताल शिलान्यास हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लगानीमा मकवानपुरको थाहा नगरपालिका, मनहरी, कैलाश, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकामा अस्पताल निर्माण गरिने भएको हो ।
थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५÷१५ शैयाको, कैलाश र राक्सिराङ गाउँपालिकामा १०र१० शैयाको र इन्द्रसरोवर गाउँपालिकामा ५ शैयाको अस्पताल निर्माणका लागि भोलि मंसिर १५ गते शिलान्यास गरिने भएको हो ।
मनहरी गाउँपालिकामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले, थाहा नगरपालिकामा मकवानपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा र बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले अस्पताल शिलान्यास गर्ने भएका छन् ।
मनहरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै अस्पताल बनाइने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । उनका अनुसार अस्पताल निर्माणको लागि ८५ लाख रुपैँया प्राप्त भइसकेको छ भने कूल १८ करोड ६ लाख ८२ हजार रुपैँया लागत अनुमान गरिएको छ ।
त्यस्तै थाहा नगरपालिका– ४ क्याम्पाडाँडामा अस्पताल निर्माण गरिने भएको हो । अस्पतालको लागि डिपिआर तयार भइसकेको र हप्तादिनभित्र टेन्डर आह्वान गरी आफ्नो कार्यकालभित्रै अस्पताल निर्माणको काम सम्पन्न गर्ने भएको नगरपालिकाका प्रमुख लवशेर बिष्टले जानकारी दिएका छन् ।
अस्पतालको लागि हाल १ करोड रुपैँया प्राप्त भइसकेको जनाइएको छ । मेयर विष्टका अनुसार अस्पताल निर्माणको लागि कूल १८ करोड ६ लाख ८२ हजार लागत अनुमान गरिएको छ ।
उता राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको लागि हाल ८५÷८५ लाख रुपैँया बजेट मन्त्रालयले विनियोजन गरेको छ । दुबै गाउँपालिकामा १०÷१० शैयाको अस्पताल निर्माण हुने र त्यसका लागि १० करोड ८३ लाख ३६ हजारका दरले लागत अनुमान गरिएको छ ।
राक्सिराङको खैराङ स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै अस्पताल निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिएका छन् ।
राक्सिराङमै अस्पताल निर्माण भएपछि भौगोलिक रुपमा बिकट यस क्षेत्रका जनताको स्वास्थ्य सुविधामा पहुँच पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी कैलाश गाउँपालिकाको कालिकाटार स्वास्थ्य चोकीलाई स्तरोन्नती गर्दै अस्पतालको रुपमा विकास गरिने भएको कैलाश गाउँपालिकाले जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिकामा भने कुलेखानी स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गरिने भएको छ । ५ शैयाको अस्पताल निर्माणका लागि हाल ७० लाख प्राप्त भइसकेको छ भने कूल ७ करोड ११ लाख ९८ हजार लागत अनुमान गरिएको छ ।