राक्सिराङमा ९५ बर्षीया बृद्ध चेपाङद्वारा अस्पताल भवन शिलान्यास

मकवानपुर । आज एकैपटक देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल भवन शिलान्यास गर्ने क्रममा मकवानपुरको राक्सिराङमा ९५ बर्षीया बृद्ध चेपाङद्वारा अस्पताल भवन शिलान्यास गरिएको छ । संघीय सरकारको अनुदानमा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १० शैयाको अस्पताल निर्माणका लागि आज सोमबार भुमि पुजन गरी शिलान्यास गरिएको हो ।
चेपाङ समुदायको पुरोहितले चेपाङ परम्परा अनुसार गाउँपालिकाका उपाध्यक्ष निर्मला हिम्डुङ, वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण प्रजा, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले संयुक्त रुपमा पूजा गरि शिलान्यास गरिएको हो ।
मकवानपुरको विकट मानिने सो क्षेत्रका नागरिक विरामी भए साधारणतयाः बाहिर लैजान नपर्ने गरी स्वास्थ्य सेवा प्रदान गरिने गाउँपालिकाका उपाध्यक्ष निर्मला हिमडुङले बताएकी छिन् ।
कार्यक्रममा अस्पताल निर्माण गर्न जग्गा दान गर्ने दाता हरिबहादुर प्रजा, स्वास्थ्य शाखा प्रमुख विजय कुमार कापरी, गाउँपालिकाका डा. धनबहादुर खत्री, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । मकवानपुरमा पनि राक्सिराङ सहित मनहरीमा १५ शैया , थाहानगरपालिकामा १५ शैया, कैलाशमा १० शैया र ईन्द्रसरोवरमा ५ शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास गरिएको छ ।