काठ ओसारप्रसार प्रतिबन्ध फुकुवा गरियोस्–महासंघ
मकवानपुर । सरकारले गत जेष्ठ १५ गते देखि वन क्षेत्रबाट काठ कटान, ओसारप्रसार तथा बिक्रीवितरणमा लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण गराएको छ । महासंघका मकवानपुर अध्यक्ष साधुराम चौलागाईसहित विभिन्न सामुदायिक वनका पदाधिकारीहरुको समूहले सो ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारीलाई आज बुझाएको छ ।
सरकारले प्रतिबन्ध गरेपछि जिल्लामा विभिन्न सामुदायिक वनमा करीब २ बर्ष भन्दा बढी समयदेखि कटान गरि घाटगद्दी गरिएका वन पैदावारहरु कुहिएर जान लागेको महासंका जिल्ला अध्यक्ष चौलागाईले बताएका छन् ।
महासंघले आज बुझाएको ध्यानाकर्षण पत्रमा राकिएको काठ कटान, विक्री वितरण खुल्ला गर्नुपर्ने, प्रदेश ऐन २०७६ मा रहेका केही दफाहरु परिमार्जन गर्नुपर्ने, वैज्ञानिक वन कार्यविधि २०७१ खारेज गर्नुपर्ने, उद्योग सञ्चालनका लागि वन क्षेत्रको दूरीलाई हटाउनु पर्ने लगायत १२ वटा मागहरु उल्लेख गरिएको छ ।
महासंघको ध्यानकर्षण पत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद पराजुलीले आफूले यस विषयमा सम्बन्धित निकायमा सो पत्रका बारेमा अवगत गराउने र महासंघको जायज माग सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
महासंघको सो ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश सदस्य रामहरि चौलागाई, मकवानपुर जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, हेटौंडा नगर अध्यक्ष शम्भुप्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारी, कार्यालय सचिव भीमसेन पौडेल लगायतको सहभागिता रहेको थियो ।











