मकवानपुरको राक्सिराङमा सबै वडामा हेलिप्याड

हेटौडा न्युज
१८ मंसिर २०७७, बिहीबार ११:१३
;

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गरेको छ । विपद्‍मा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्ने उद्देश्यले पालिकाले नौ वटै वडामा हेलिप्याड निर्माण गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार विपद्‍मा परेका, गर्भवती, सुत्केरी र आकस्मिक बिरामीलाई छिटो उद्धार गर्न सकियोस भन्ने उद्देश्यका साथ हेलिप्याडको व्यवस्था गरेको बताए ।

गाउँपालिकाका अनुसार वडा–१ को डुङ्ख, २ को गोठरी, ३ को पलासे र ४ को भीमलटारमा हेलिप्याड निर्माण गरिएको छ । यसैगरी वडा–५ को बोटबारी, ६ को खरखन्डे, ७ को गर्लिङ, ८ को देवीटार र ९ को डन्टटारमा हेलिप्याड निर्माण गरिएको छ । जनश्रमदानबाहेक हेलिप्याड निर्माण गर्न गाउँपालिकाको ५ लाख रुपैयाँ खर्च भएको छ ।

जिल्लाकै अत्यन्त विकट गाउँपालिकाका वडाहरू सडक सञ्जालसँग जोडिएका छैनन् । बिरामी र विपद्‍मा परेकालाई उद्धार गर्न घण्टौं डोकोमा बोकेर ल्याउनुपर्ने बाध्यता छ ।

पालिकाको दुर्गम क्षेत्रबाट राजमार्गसम्म बोकेर ल्याउन ८÷९ घण्टासम्म लाग्ने अध्यक्ष मल्लले बताए ।

चट्याङ प्रभावित क्षेत्र उक्त गाउँपालिकामा गत साउनयतामात्रै चट्याङबाट तीन जनाको मृत्यु र १७ जना घाइते भएका छन् । चट्याङ लागेर बेहोस भएकालाई तत्कालै उद्धार गर्न नसकेकाले दुई जनाको मृत्यु भएको थियो ।

बाढीपहिरोको पनि उच्च जोखिममा रहेको उक्त गाउँपालिकामा चेपाङ समुदायको बाहुल्य छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*