रिद्धिसिद्धी सिमेन्ट उद्योगको खानी अनुगमन

मकवानपुर । स्थानीयको विरोध पछि रिद्धिसिद्धी सिमेन्ट उद्योगको गिङ्ङु खानी अनुगमन गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालसहितको टोलीले मकवानपुरको राक्सिराङ–४ मा रहेको उद्योगको गिङ्ङु खानी अनुगमन गरेको हो ।
खानी सञ्चालनको क्रममा स्थानीयहरु विस्थापित हुन थालको गुनासोपछि प्रमुख जिल्ला अधिकारी रिजालसहितको सुरक्षा निकायका अधिकारीहरुले खानी अनुगमन गरेका हुन् ।
उद्योगले एक सातादेखि खानी उत्खनन्को काम गरिरहेको छ ।
स्थानीयबासीहरुको उचित ब्यवस्थापन बिना नै खानी सञ्चालन गरेपछि गिङुङुका करिब एक दर्जन परिवार विस्थापित भइसकेका छन् । अन्य करिब एक दर्जन परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीयले बताए ।
स्थानीय जनप्रतिनिधिहरुले प्रभावित बासिन्दालाई कुनै जानकारी नै नदिई उद्योगसँग सहमति गरेर खानी सञ्चालन गर्न दिएको स्थानीयबासीको आरोप छ ।
उक्त खानी सञ्चालन हुँदा उद्योगको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका ६५ परिवार विस्थापित हुने स्थानीयबासीहरुको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले उद्योग व्यवस्थापनलाई स्थानीयबासीको उचित माग सम्बोधन गरेर खानी सञ्चालन गर्न बताएका छन् ।
स्थानीयहरुले चलनचल्तीको मुल्यमा उद्योग आफैले स्थानीयको जमिन खरिद गर्नुपर्ने, जग्गा बिक्री गर्दा दश लाख रुपैयाँ भन्दा कम रकम प्राप्त हुनेहरुलाई अन्यत्र पुर्नबास गराउनुपर्ने लगायतका माग गरेका छन् । तर उद्योगले भने स्थानीयहरुको माग पुरा गरेरै खानी सञ्चालन गरेको दाबी गरेको छ ।