बिद्युतीय बस संचालनका लागि ७ वटा रुट तयार
मकवानपुर । बागमती प्रदेशमा बिद्युतीय बस संचालनको लागिरुट तयार गरिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बिद्युतीय बस संचालनका लागि ७ वटा रुट तयार भइसकेको जनाएको हो ।
अबको केही महिनाभित्रै बिद्युतीय बस संचालनको तयारीका गरेको मन्त्रालयले जनाएको छ ।
प्रदेशभित्र इन्धनबाट चल्ने सवारी साधनलाई विस्थापित गर्दै बिद्युतीय बस संचालनका लागि ७ वटा रुट तयार पारिसकेको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले जानकारी दिएका छन् ।
प्रदेशको मुख्य सहरहरु क्रमश हेटौँडा, भरतपुर, सिन्धुली, नुवाकोट, धुलिखेल, काठमाडौं उपत्यका र धादिङमा बिद्युतीय सवारी साधन संचालनको लागि रुट तयार भइसकेको र निजी क्षेत्रको व्यवसायीहरुलाई बस खरीद गरी संचालन गर्न आग्रह गरिएको मन्त्री फुँयालले बताए ।
चार्जिङ स्टेशन निर्माणको लागि १ सय १९ वटा स्थानीय तहलाई सूचना आह्वान गरिसकिएको र भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, मनोहरा र संखपुर नगरपालिका गल्छी र कागेश्वरी गाउँपालिका, लगायत ८ वटा स्थानीय तहले चार्जिङ स्टेशनको लागि जग्गा उपलब्ध गराउने आशय पत्र मन्त्रालयमा पठाइसकिएको उनले बताए ।
चार्जिङ स्टेशनको निर्माणको लागि नेपाल विद्युत प्राधिकरण नगर विकास कोष, स्थानीय तहहरु र बागमती प्रदेश सरकारले संयुक्त रुपमा गृहकार्य गरिरहेको बताइएको छ ।
त्यसैगरी मन्त्रालयले यातायात संचालन तथा व्यवस्थापन बोर्डको कार्यकारी निर्देशक र उप कार्यकारी निर्देशक पदपूर्तिको लागि सूचना प्रकाशित गरेको छ ।
योग्यता र क्षमताको आधारमा निश्पक्षताको साथ नियुक्ती प्रक्रिया अघि बढाइने बताइएको छ ।