मकवानपुरमा पत्रकार र काउन्सिल बिच अन्तरक्रिया

मकवानपुर । मकवानपुरका पत्रकार र प्रेस काउन्सिल नेपाल बिच अन्तरक्रिया सम्पन्न भएको छ । काउन्सीलले मकवानपुरका क्रियाशिल पत्रकारहरुसंग कोरोना भाइरसको महामारीमा सञ्चारकर्मी र सञ्चार माध्यममा परेको प्रभाव र लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार माध्यमको भूमिका विषयमा अन्तरक्रिया गरेको हो ।
नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा बार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालकी सदस्य संगीता खड्काले काउन्सिलले कोरोना भाइरस संक्रमणको जोखिमका बेला पत्रकारको हकहितका लागि काम गरेको बताइन् ।
उनले काउन्सिलको काम मुख्यतः पत्रकार आचारसंहित पालना गराउने भएको पनि स्पष्ट पारिन् ।
पत्रकारिता पेशालाई मर्यादित बनाउने उद्देश्यले जागरण अभियान निरन्तर सञ्चालन भइरहेको र मर्यादित पत्रकारिताको पक्षमा काउन्सिलले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो ।
साना लगानीका मिडियाको संरक्षणमा काउन्सिलले सहयोग गर्ने सदस्य खड्काले बताइन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय समिति सदस्य पुरुषोत्तम सुवेदी, प्रेस काउन्सिल नेपालका शाखा अधिकृत विष्णु शर्मा लम्साल, मिडिया अनुगमनकर्ता सम्झना पौडेलको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीले लोककल्याणकारी विज्ञापनको भुक्तानी सहज हुनुपर्ने, पत्रपत्रिका वर्गीकरणमा भएका कमिकमजोरी सच्याउनुपर्ने सुझाव दिएका थिए ।