त्रिविका शिक्षाध्यक्षलाई ५ हजार जरिवाना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई सुचना लुकाएको कारण ५ हजार जरिवाना गरिने भएको छ । राष्ट्रिय सूचना आयोगले सूचना लुकाएको भन्दै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।
सूचनाको हक सम्बन्धी ऐन अनुसार सूचना लुकाएको अभियोग पुष्टि भएकाले जरिवाना गर्ने फैसला सुनाएको हो।
आयोगको आदेश पालना नगरी मातहतको कार्यालयमाथि जिम्मेवारी पन्छाउन खोजेको, आयोगको आदेश, पत्राचारको वेवास्ता गरी विषयान्तर गर्दै पन्छिन खोजेको ठहर गर्दै आयोगले यस्तो फैसला सुनाएको हो।
राष्ट्रिय सतर्कता केन्द्र तथा राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयलाई अर्को आदेश नभएसम्म विवादित परीक्षाको उत्तरपुस्तिका लगायत परीक्षासम्बन्धी कागजात नष्ट नगर्न दिएको आदेश विपरीत उत्तरपुस्तिकाहरु नष्ट गरिएपछि यस्तो आदेश गरेको छ।
सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(५) बमोजिम गरेको जरिवाना असुल उपर गर्न आयोगले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्नसमेत आदेश दिएको छ।